हरिबोधिनी एकादशीमा त्रिखण्डीमा जात्रा लाग्दै

साझाकुरा
२०८० मंसिर ७, बिहीबार १०:३९

हेटौंडा-हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरुको खाता बन्द भएको बिगुलका रुपमा लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशदीपलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ ।हरिबोधिनी एकादशी वर्षमा पर्ने २४ वटा एकादशीमध्ये सबभन्दा ठूलो एवम् महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दुधर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वका रुपमा लिइन्छ । आषाढशुक्ल एकादशीको दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आजका दिन उठ्नुहुने पुराणमा उल्लेख गरिएको छ । यसकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।

भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ । यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदसमेत महत्वपूर्ण भूमिका लिएको तुलसीको बिरुवाको महत्व ठूलो छ । धार्मिक र सा“स्कृतिक अनि वैज्ञानिकरुपमा पनि अतिउपयोगी यस वनस्पतिलाई आ“गनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ ।

यसरी औपचारिकरुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको बिरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधिपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी आषाढशुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसँग विवाह गरिदिने परम्परा पनि छ ।तुलसीको मठको चारैतर्फ बा“सको लिंगो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ । यसरी होम लगाउ“दा रुद्रि पूजा पनि गरिने चलन छ । अब त खेतमा धानका बाला पनि पाकेर घर भित्रन थालिसके, नया“ धानको चामल कुटेर त्यसमा दही, सक्खर आदि मिसाएर न्वागी चढाउने र प्रसादकारुपमा ग्रहण गर्ने चलन पनि छ । यसअर्थमा आजको दिन यस वर्षको नया“ अन्नको औपचारिक प्रयोग गर्ने दिन पनि हो ।

मेलामा मदिरा तथा
माछामासु प्रतिवन्ध

हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशीको दिन आज बिहीवार भैसेस्थिति त्रिखण्डी मन्दिरमा भब्य मेला लाग्दैछ । त्रिखण्डी मात्र नभइ देशभरका महादेव मन्दिरमा ठूलो एकादशीका दिन भब्य मेला लाग्ने गरेको छ ।मेलालाई सभ्य भब्य र ब्यस्थित बनाउनका लागि व्यवस्थापन समितिसमेत गठन गरिएको छ । समितिका अध्यक्ष प्रकाश रुम्बा तथा संरक्षक तारा थिङले मेला परिसरमा मादकपदार्थको बिक्री बितरणमा पूर्ण रोक लगाइएको बताए । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले पनि यो क्षेत्रमा मादकपदार्थको बिक्री बितरण नगर्न र नगराउन सार्वजनिक सूचनाजारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*