दुर्घटनामा परी चार महिनामा १७ जनाको मृत्यु
हेटौंडा- मकवानपुरमा सवारी दुर्घटनाबाट धेरै धनजनको क्षति हुने गरेको छ । दुर्घटना न्यूनीकरणका लागि धेरै प्रयासहरु भएता पनि सकारात्मक परिणाम भने आउन सकेको छैन ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्यांक हेर्दा चालू आर्थिक वर्षको ४ महिनामा मात्र सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन् । त्यसमा १५ वटा ट्रक, एक ट्रिपर, ४ वटा बस, ११ वटा जिपकार, भेन, २ वटा टेक्टर, ६ वटा टेम्पो, ४३ वटा मोटरसाइकल र अन्य ५ वटा गरी कुल ८७ वटा सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा १२५ जना सामान्य घाइते भएका छन् भने ४० जना गम्भीर घाइते भएका छन् । तथ्यांक अनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ । मकवानपुरमा हरेक दिन सडक दुर्घटनामा परेर कयौं मानिसले ज्यान गुमाइरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार चाडपर्वको समयमा बाहिरबाट भित्रने क्रम बढेसँगै बढ्दो सवारीचापका कारण बढी दुर्घटना भएको छ । चाडपर्वमा बढीजसो मादकपदार्थ सेवन गरी तीब्र गतिमा सवारी साधन चलाउनु अहिलेको मुख्य कारण रहेको उनले बताए ।
बढ्दो सवारी दुर्घटना क्रमलाई रोक्न विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरी चालकलाई सचेत गराउन खोजिएको बताउदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी मात्र जिम्मेवार नभइ सवारीचालकको चेतनास्तर वृद्धि गर्नु पनि उत्तिकै जरुरी देखिएको उनी बताउँछन् । सवारीचालकले ट्राफिक नियम चालकलाई दुख दिन नभई हाम्रै सुरक्षाको लागि हो भन्ने कुरा मनन गरी ट्राफिक नियममा रहेर सवारीसाधन चलाउन पर्छ भन्ने चेतानाको विकास हुन उत्तिकै जरुरी रहेको प्रहरी निरीक्षक आचार्यको भनाइ छ ।







