थाहा महोत्सवको तयारी धमाधम
हेटौंडा-थाहा नगरपालिकाको ईन्द्रायणी चौरमा १४ मंसिरबाट सुरु हुने चौथो थाहा महोत्सवको तयारी धमाधम भइरहेको छ । महोत्सवमा राखिने स्टल र मनोरञ्जनात्मक सामग्री निर्माणको काम अहिले धमाधम भइरहेको छ ।थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी कालाभैरव गुठीको सहआयोजनामा हुने भएको हो । यही मंसिर १४ गतेदेखी २६ गतेसम्म १२ दिनसम्म सञ्चालन हुन लागेको हो ।
महोत्सवमा कृषिउपज, घरेलु हस्तकला, स्थानीय उत्पादन, कुलेखानीको माछा, नेवारी परिकार बिक्री तथा प्रदर्शनी, सूचना प्रविधिसम्बन्धी जानकारी, दैनिक उपभोग्यलगायत सामग्री राखिने महोत्सव आयोजक मुल समिति संयोजक पुरुषोत्तम ढकालले बताए ।
महोत्सवमा रोटेपिङ, बालउद्यानका सामग्री, आकर्षण टिकटक स्टेज, ड्रागन रेललगायत राखिने मुल आयोजक समितिका थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले बताए । उनका अनुसार अहिले यी कामहरु भैरहेका छन् । कोभिड–१९ महामारीको समयमा नियमितता दिन नसकेको महोत्सव थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी कालाभैरव गुठीको सहआयोजनामा सञ्चालन हुन लागेको हो ।
स्टल निर्माणका काम पनि धमाधम भइरहेको उनले बताए । अहिले धेरैजसो स्टलहरु बुकिङ भैरहेको र बुकिङ गर्न इच्छुकले छिटो सम्पर्क गर्न उनले आग्रह गरेका छन् । महोत्सवमा चर्चित राष्ट्रिय कलाकार र स्थानीय कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ ।







