मकवानपुरगढी र त्रिखण्डीमा हरिबोधिनी एकादशी मेला

साझाकुरा
२०८० मंसिर ८, शुक्रबार ११:२०

हेटौंडा- मकवानपुरमा हरिबोधिनी एकादशीको अवसरमा ठुलो मेला लागेको छ । मकवानपुरको मकवानपुरगढी–२ मा रहेको ऐतिहासिक गढीदरबार परिसर र भीमफेदी–१ त्रिखण्डेश्वर मन्दिर परिसरमा मेला लागेको हो ।एकादशी मेलामा बिहीबार बिहानैदेखि भक्तजनहरु र मेला हेर्न आउनेको घुईंचो लागेको हो । प्रत्येक वर्ष लाग्ने एकादशी मेलाको अवसरमा हजारौं संख्यामा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

मकवानपुरगढी दरवार परिसरमा रहेको वंशगोपाल मन्दिरमा व्रतालुहरुले पूजाआजा गर्नुका साथै मेलामा नाचगान र विभिन्न परिकारहरु खाएर मनाएका छन् । मेलामा विभिन्न परिकारका खानेकुरा, सयपत्री माला, एकादशीमा विशेष रुपमा प्रयोग गरिने उखु, पिँडालु, सखरखण्ड लगायत फलफूल अन्य सामानहरु मेलामा बिक्रीका लागि राखिएको थियो ।

मेला मकवानपुरगढी स्थानीयबासी र हेटौंडा बजारका व्यापारीहरु मेलामा व्यापार गर्न पुगेका थिए । मेला भर्न आउने श्रद्धालुहरुको लागि आवश्यक सुरक्षा व्यवस्थापन गरिएको वडा नम्बर २ का वडाअध्यक्ष बखानसिं पाख्रिनले बताए । मेलामा भजनखैजडीको साथै मादल बजाउँदै लोकदोहोरी भाकामा रमाउँदै नाचगान गर्नेको भीड उत्तिकै रहेको वडाध्यक्ष पाख्रिनले बताए । मेलालाई व्यवस्थित गर्न प्रहरी, वडा कार्यालय, टोल विकास समितिले आवश्यक समन्वय गरेको अध्यक्ष पाख्रिनले बताए ।

त्यस्तै, भीमफेदी गाउँपालिका–१ मा रहेको त्रिखण्डेश्वर महादेवको मन्दिर परिसरमा पनि ठुलो मेला लागेको छ । त्रिभूवन राजपथमा अवस्थित यो मन्दिर मेलाले गर्दा सडकमा सवारी साधान आवातजावतमा कठिनाई भएको थियो । सुरक्षाकर्मी परिचालन गरी मेलालाई सुरक्षित र व्यवस्थित गरिएको मकवानपुर प्रहरीले जनाएको छ । त्रिखण्डीमा पूजाआजा सहित विभिन्न परिकार विक्री गरिनुका साथै विभिन्न खेलहरु खेलाइने गरिन्छ । त्रिखण्डीमा पनि बिहीबार विहानैदेखि भक्तजनको भीड लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*