प्रतिष्ठानका प्राध्यापक आन्दोलित, १५ दिनदेखि अध्यापन बन्द

साझाकुरा
२०८० मंसिर ८, शुक्रबार ११:२२

हेटौंडा- प्राध्यापकहरु विरोधमा उत्रिएर ‘पेनडाउन’ गरेपछि हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन कार्य बन्द भएको छ ।स्नात्तक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन कार्य गरिरहेको प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरुले तलब, भत्ता बापतको भुक्तानी नपाएपछि आन्दोलन गर्नुपर्ने बाध्यता आइपरेको बताएका छन् । प्राध्यापकहरुले ४ महिनादेखि तलब नपाएको गुनासो छ । तलब, भत्ता लगायतका अन्य सुविधाबापतको रकम भुक्तानी प्राप्त गर्न नसकेको प्राध्यापक कल्याणकारी समिति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका अध्यक्ष विश्वास सापकोटाले बताए ।प्रतिष्ठानले विगत ४ महिनादेखि २४ जना प्राध्यापकको तलब भत्ता लगायतका सुविधाको रकम भुक्तानी नगरेकाले विरोधमा उत्रिएको उनको भनाई छ ।

विरोधस्वरुप प्राध्यापकहरुले गत कात्तिक २२ गतेदेखि पठनपाठन नै ठप्प पारेका छन् । अध्यक्ष सापकोटाका अनुसार प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दा समेत तलब भत्ता र अन्य सुविधा बापतको रकम भुक्तानी नदिएकाले पेनडाउन गरेको हो । प्राध्यापकले पेनडाउन गरेसँगै विद्यार्थीको पठनपाठन १५ दिनदेखि पूर्णरुपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् । प्राध्यापकले गत भदौदेखि तलब भत्तालगायतका अन्य सुविधा बापतको रकम भुक्तानी प्राप्त नगरेको अध्यक्ष सापकोटाले बताए ।

नवौँ तहमा कार्यरत एक कर्मचारीले बेसिक तलब ५१ हजार रुपैयाँ सहित भत्ता, लगायतका सुविधा प्राप्त गर्ने भएपनि प्रतिष्ठानले भुक्तानी नदिएको उनको भनाइछ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को तलब सुविधा बापतको रकम पनि सघंर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यस यताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनले बताए । तलब भत्तालगायतका सुविधा बापतको रकम माग गर्दा समेत प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने गैरजिम्मेवारपूर्ण जवाफ आउने गरेको उनको भनाइ छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुदर्शन शेरचनका अनुसार प्रदेश सरकारले छात्रवृत्ति बापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको जानकारी दिए । उनका अनुसार चिकित्सा शिक्षा आयोगको नीतिअनुरुप कूल विद्यार्थी संख्यामध्ये ७५ प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ भने सो बापतको रकम प्रदेश सरकारले प्रतिष्ठानलाई भुक्तानी दिनुपर्ने हुन्छ । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि यो शीर्षकमा प्राप्त हुने बजेट प्रतिष्ठानलाई उपलब्ध नगराउँदा प्राध्यापकको तलब भत्तालगायतका सुविधाबापतको रकम भुक्तानीमा समस्या भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*