दुग्ध सहकारी संघहरुले प्रदेश कृषिमन्त्रीलाई बुझाए ज्ञापनपत्र

साझाकुरा
२०८० मंसिर ८, शुक्रबार ११:२४

हेटौंडा- बागमती प्रदेश अन्तरगतका जिल्ला दुग्ध सहकारी संघका प्रतिनिधिहरुले कृषकको समस्यालाई समाधान गर्न बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।मकवानपुर जिल्ला दुग्ध सहकारी संघको नेतृत्वमा वर्तमान समयमा भएको दुग्धजन्यपदार्थको बिक्रीमा आएको समस्या समाधानको गर्न आग्रह गर्दै बिभिन्न माग सहित ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा बागमती प्रदेशका कृषकमा दुग्ध उत्पादन क्षेत्रमा उत्साह बढेसँगै दुग्ध उत्पादनमा उल्लेख्य वृद्धि भई, सिंगो देशलाई दुग्धमा आत्मनिर्भर बनाउन सहयोग पुग्नुका साथै किसानमा उत्साह देखिएको र यो उत्साह कायम राखी मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादित दुग्ध तथा दुग्धजन्यपदार्थ बिक्रीमा राज्यको महत्वपूर्ण भूमिका हुनुपर्ने उल्लेख गरिएको छ ।

तर, राज्य कृषकको समस्या समाधानतर्फ केन्द्रीत नभएकोले कृषकमा छाएको निराशा हटाउन बागमती प्रदेश सरकारसमक्ष किसानका तर्फबाट उठाइएका बिभिन्न मागहरु समाधान गर्न ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्रमा उपादित दुग्धजन्यपदार्थको बजारिकरण सुनिश्चित गर्नुपर्ने, नियमित भुक्तानीको ब्यवस्था मिलाउनुपर्ने, उत्पादनमा आधारित अनुदान विगत भन्दा कम नहुने गरी व्यवस्था गर्नुपर्ने, साथै उल्लेखित दोहोरोपन भन्ने शब्द हटाउनुपर्ने, दुग्ध उत्पादक किसान र सहकारीका आवश्यक्ताका आधारमा अनुदानको ब्यवस्था गर्नुपर्ने, दुग्ध उत्पादक सहकारी संघहरु र प्रदेश सरकार एवं सम्बन्धित मन्त्रालय बीच त्रैमासिक रुपमा छलफल, अन्तरक्रिया गरी समस्या पहिचान र समाधान गर्नुपर्ने लगायतका माग अघि सारिएको छ ।

कृषकको मागको संबोधन गर्नेतर्फ आफ्नो ध्यान गएको र छिट्टै प्रदेश सरकारको लगानीमा हेटौंडा–१० मा निर्माण हँुदै गरेको पाउडर प्लान्ट तयार भएपछि दुग्ध क्षेत्रमा आउने समस्या समाधान हुने बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. श्रेष्ठले बताए ।ज्ञापनपत्र बुझाउने क्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले, सिन्धुली जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज गजुरेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुन देवकोटा, सहायक ब्यवस्थापक दामोदर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*