सरकारले आगामी बैशाख ९ र १० मा लगानी सम्मेलन गर्ने
हेटौंडा-नेपाल सरकारले आगामी बैशाख ९ र १० गते नेपालमा लगानी सम्मेलन गर्ने भएको छ । देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको हो ।अर्थमन्त्री प्रकाशशरण महतले अर्थ मन्त्रालयको नेतृव सम्हाले लगत्तै लगानी सम्मेलनको तयारी गरेका थिए ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलनमार्फत विदेशी लगानी आकर्षित गर्न खोजेको बताए । नेपाललाई लगानीको गन्तव्यका रुपमा चिनाउन सरकारले लगानी सम्मेलन गर्ने भएको हो । २०७३ फागुन र २०७५ चैतको सफलतापछि लगानी बोर्ड नेपालले तेस्रो पटक लगानी सम्मेलन आयोजना गर्ने भएको हो ।
यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेला २०७३ फागुन १९ र २० तथा केपी शर्माओली प्रधानमन्त्री हुँदा २०७२ चैत १५ र १६ गते लगानी सम्मेलन भएको थियो । संसारभर रहेका लगानीकर्ता जसले नेपालमा लगानी गर्न सक्छन् उनीहरुलाई नेपालका बारेमा जानकारी गराउने र सरकारले नै यसमा प्रतिबद्धतता गर्नेछ । यो सबै पहलकदमी सरकारीस्तरबाटै हुनेछ । प्रतिबद्ध लगानीकर्तालाई सम्मेलनमा सहभागी गराएपछि सम्मेलन अर्थपूर्ण हुने अधिकारीहरुको बुझाइ छ ।
यतिखेर विदेशी लगानीकर्ता माझ लगानीको सुरक्षा र प्रतिफल ग्यारेन्टीमार्फत आफूप्रतिको विश्वनीयता देखाउने चुनौती सरकारसामु छ । अन्तर्राष्ट्रिय लगानीकर्तामाझ देशको सम्भावना उजागर गर्दै नेपाललाई लगानी गन्तव्यका रुपमा चिनाएर सरकारले वैदेशिक लगानी भित्राउन फेरि लगानी सम्मेलन गर्न लागेको हो । लगानी बोर्ड नेपालको ५३ औँ बैठकले २०८० मै आयोजना हुन लागेको लगानी सम्मेलनको अवधारणपत्र स्वीकृति गर्नुको साथै सम्मेलन आयोजना गर्ने आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिइसकेको थियो ।
बोर्डले आवश्यक तयारी थालिसकेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट भाषणमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको हो । सम्मेलनअघि नै नेपाल ल्याउन सकिने सम्भावित कम्पनीको खोजी गरेर त्यहाँसम्म पुग्ने योजनाअनुसार अहिले काम भइरहेको अर्थका अधिकारीहरुले बताएका छन् ।सम्मेलनको पूर्वतयारीमै कम्पनी खोजी गर्ने र नेपाल आउनका लागि सहमत गराउने काम हुने साथै यसका लागि कुटनीतिक नियोगदेखि राजनीतिक नेतृत्वसम्म परिचालन हुने भएको छ । यसअघिका सम्मेलनमा चिठी पठाउने र सोही आधारमा सहभागी भएकाहरुले खास लगानी नगर्ने गरेको घटनाबाट पाठ सिक्दै यो पटक अलि विस्तृत तयारी गर्न खोजिएको अधिकारीहरुले बताएका छन् ।
सरकारले यो सम्मेलनबाट सकेसम्म विश्वव्यापीरुपमा प्रतिष्ठित कुनै एक÷दुई वटा कम्पनी भित्राउन खोजेको बताइएको छ । विशेषगरी सूचनाप्रविधिको क्षेत्रमा नेपालमा युवाहरुको स्वतस्फूर्त आकर्षण देखिएपछि सरकारले यही क्षेत्र केन्द्रित लगानीको खोजी गर्ने भएको छ । आगामी लगानी सम्मेलनबाट सूचना प्रविधिको क्षेत्रमा नाम कमाएको एउटा कम्पनी भित्राउन सकिएमा त्यसले धेरै प्रभाव पार्ने बुझाइ अधिकारीहरुको छ । त्यसका लागि राजनीतिक तहबाटै प्रतिबद्धता गर्न परे गर्ने तयारी रहेको छ ।







