थाहा आइडलमा ३३ जना प्रतिस्पर्धीको टुंगो
हेटौंडा-थाहा नगरपालिकाको इन्द्रायणीचौरमा १४ मंसिरबाट हुने चौथो थाहा महोत्सवमा थाहा आइडल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा थाहा नगरपालिकाकै ३२ जना र मोरङका १ जना गरी ३३ जनाले सहभागिता जनाउने टुंगो लागेको थाहा आइडलका संयोजक यादवजंग रायमाझीले जानकारी दिए ।थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी कालाभैरव गुठिको सहआयोजनामा मंसिर २५ गतेसम्म थाहानगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुदैछ ।
‘पहिलो दिनमै ३३ जनाबाट टप २० जना प्रतिस्पर्धी छनौट गर्छौँ ।’, संयोजक रायमाझीले भने, ‘टप ६ बाट भोटिङको व्यवस्था गर्ने छौँ ।’,प्रतियोगितामा कलाकार विजयश्याम अमात्य र अर्का एकजनाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । थाहा आइडललाई निरन्तरता दिनुको साथै लोकल कलाकारलाई स्टेजको ‘प्लेटफर्म’ दिने उद्देश्यले थाहा आइडल आयोजना गरेको उनले बताए । आइडलको उपाधि जित्नेले नगद ३० हजार रुपैयाँ, द्वितीय हुनेले नगद २० हजार रुपैयाँ र तृतीय हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।







