हेटौंडाबाट खुद्रा सामानसहित चारवटा ट्रक नियन्त्रणमा
हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले खुद्रा सामानसहित चारवटा ट्रकलाई सोमबार हेटौंडाबाट नियन्त्रणमा लिएको छ ।हेटांैडा उपमहानगरपालिका–१५ रातोमाटे चेकप्वाईन्टस्थित पूर्व–पश्चिम सडकखण्डबाट प्रहरीले विभिन्न नम्वरको चारवटा ट्रकलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायवउपरीक्षक भण्डारीका अनुसार, रातोमाटेबाट खटिएको चेकिङ टोलीले वीरगञ्जबाट आउँदै गरेको सवारी साधनहरुमा बिलबिजक भन्दा बढी खुद्रा सामान बरामद भएपछि ती ट्रकहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले वीरगञ्जबाट काठमाडांैतर्फ जाँदै गरेको ना ८ ख ४८४२ नम्वरको डब्बा गाडी, प्रदेश ३–०१–००५ ख ९८५१ नम्वरको ट्रक, ना ३ ख ५९५० नम्वरको ट्रक र वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको ना ४ ख ८७२७ नम्वरको ट्रकलाई नियन्त्रणमा लिएको हो । सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी नायवउपरीक्षक भण्डारीले बताए ।







