निकुञ्जभित्र दुई गैंडा मारेको आरोपमा मकवानपुरका पाँचजना पक्राउ
हेटौंडा- चितवन राष्ट्रिय निकुञ्जभित्र खाल्डो खनेर पासो थापी दुईवटा गैंडा मारेको आरोपमा मकवानपुरका पाँच जनासहित ८ जना पक्राउ परेका छन् ।गैंडा मारिएको घटनाका मुख्य योजनाकार मकवानपुरकै दुईजना रहेको निकुञ्जले बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षाचौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैंडा मारिएको घटनाका आरोपितलाई खागसहित पक्राउ गरिएको हो । अन्दाजी १८ र ६ वर्षका पोथी
गैंडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न विशेष मिसन बनाएर खटिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाको उपस्थितिमा आरोपित ८ जनालाई सार्वजनिक गरिएको हो । खाग बिक्री गर्न ग्राहक खोजिरहेको अवस्थामा चितवनको राप्ती नगरपालिकाको वडा नम्बर ५ र ६ को क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको महानिर्देशक ढुंगानाले जानकारी दिए । घटनाको मुख्य योजनाकारको रुपमा ३३ वर्षका रमेश खाती र थिङ बाजे भनिने ५६ वर्षका सीताराम थिङ रहेको दाबी गरिएको छ । खाती र थिङ दुवै मकवानपुरका हुन् । हेटौंडा उपमहानगरपालिका–३ लेबट घर भएका खातीलाई प्रहरीले ९ मंसिरमा चितवनको राप्ती–६ बाट पक्राउ गरेको थियो ।
खाती यसअघि पनि गैंडा शिकारको अभियोगमा मुछिएका व्यक्ति हुन् । विगतमा एकपटक गैंडा शिकारकै अभियोगमा सोधपुछको लागि निकुञ्ज लगिए पनि अपराधमा संलग्न भएको प्रमाण नभएकोले खाती माथि अभियोजन प्रक्रिया अघि नबढेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले बताए । योजनाकारमध्येका अर्का थिङ, मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–६ नयाँबस्तीका हुन् । उनलाई राप्ती नगरपालिका–६ क्षेत्रबाट नै पक्राउ गरिएको थियो ।
गैंडाको खाग बिक्रीमा सहयोग गरेको आरोपमा ४४ वर्षका शमशेर थिङ पक्राउ परे । मकवानपुरगढी–९ घर भई हेटौंडा उपमहानगरपालिका–४ बस्दै आएका थिङलाई पनि राप्ती–६ बाटै पक्राउ गरिएको निकुञ्जले जानकारी दिएको छ । थिङ पनि गैंडा मार्ने योजनाकारमध्ये एक भएको निकुञ्जले जनाएको छ । हेटौंडा उपमहानगरपालिका–५ का २८ वर्षका अर्जुन रोक्का पनि राप्ती–६ बाटै पक्राउ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले बताए । गैंडा शिकार गरेको आरोपमै मनहरी गाउँपालिका–७ ज्यामिरे घर भई चितवनको माडी–९ बाँदरझुला बस्दै आएका ५६ वर्षीय ईन्द्रबहादुर तामाङ राप्ती–५ बाट ११ मंसिरमा पक्राउ परेका छन् ।
यसैगरी, मकवानपुरका पाँच जनासहित गैंडा शिकारको आरोपमै ४२ वर्षका पासाङ भन्ने आइतसिंह मोक्तानलाई पक्राउ गरिएको छ । चितवन राप्ती–११ थाकलटार घर भएका मोक्तान पनि राप्ती–६ बाटै पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का घले भन्ने ७७ वर्षका धनबहादुर गुरुङ पनि छन् । राप्ती–११ बस्ने ४० वर्षका उनबहादुर स्याङतानलाई राप्ती–५ बाट पक्राउ गरिएको थियो । उनी गैंडा शिकार अभियोगमा पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई जिल्ला अदालत चितवनबाट म्याद थपभई अनुसन्धान प्रक्रिया अघि बढाइएको निकुञ्जले जानकारी दिइएको छ । गैंडा शिकार मुद्दामा अपराध पुष्टि भएमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
निकुञ्जको चपरचुली सुरक्षापोष्टको ३ किलोमिटरको मात्रै दुरीमा रहेको गैंडा मारिएको क्षेत्रमा तस्कर समूहले २० दिन बिताएको अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागको प्राविधिक टोलीले २० दिनसम्म तस्करको टोली जंगलमै बास बसेको जनाएको छ । आरोपितहरुको साथबाट ४ सय ८० ग्राम र ६० ग्राम तौलको दुई थान खाग बरामद गरेको छ । उनीहरुको साथबाट कालो झोला, भरुवा बन्दुक, बिँड भएको बञ्चरो, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामको टुक्रा, गुलेली, टर्च लाइट, कालो झोला, घरमा बनाएको झोला, डेक्ची, पटाका बारुद, ब्ल्यांकेट र दुई थान पल्सर मोटरसाइकल बरामद गरिएको छ ।
उनीहरुले एक किलो मिटरको दुरीमा सातवटा खाल्डा बनाएको भेटिएको छ । केही पर मचान जस्तो बनाइ बसेको, चाउचाउ, पानी खाएका खोलहरु समेत भेटिएको थियो । सातवटा खाडल खनेर चोरी शिकारी प्रक्रिया पूरा गर्न तस्करहरुले करिब महिना दिन बिताउँदासमेत निकुञ्ज प्रशासनले थाहा नपाउनु कमजोरी भएको महानिर्देशक ढुंगानाले स्वीकार गरेका छन् । उनले निकुञ्जका सुरक्षामा रहेका कर्मचारी बिदामा घर गएको मौका छोपी गैंडा तस्करले चोरी सिकारी गरेको बताए ।
सशस्त्र द्वन्द्वको समयमा देशभर एकै वर्षमा ३८ वटासम्म संरक्षित जनावर गैंडा तस्करले मारेको तथ्यांक छ । विगतका वर्षमा वन्यजन्तु चोरी शिकारी घटेको निकुञ्जको तथ्यांकले देखाउँछ । कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष पनि मनाएको थियो । गतवर्ष दुईवटा गैंडा सिकारीले मारेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार ६ सय ९४ गैंडा रहेका छन् । नेपालमा सात सय ५२ गैंडा छन् । चितवन राष्ट्रिय निकुञ्ज मकवानपुरको मनहरी गाउँपालिकासम्मै फैलिएको छ ।







