चौथो थाहा महोत्सव सुरु

साझाकुरा
२०८० मंसिर १५, शुक्रबार ११:२८

हेटौंडा- हेटौंडा, थाहा नगरपालिकामा विहीबारबाट कृषि, पर्यटन व्यापार मेला–चौथो थाहा महोत्सव सुरु भएको छ । थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरट्टेलले थाहा महोत्सवको उद्घाटन गरेका हुन् ।कार्यक्रममा मुख्यमन्त्री जम्मरकट्टेलले प्रदेश सरकारले कृषिक्षेत्रको रुपान्तरणका लागि समुदायमा आधारित अनुदान कार्यक्रम लागू गर्ने तयारी गरिरहेको बताए । कृषिक्षेत्रमा आवद्ध कृषकलाई लक्षित गरी पकेटक्षेत्र घोषणा गरेर अनुदान तथा उत्पादनका कार्यक्रम कार्यान्वयन गर्ने तयारी सरकारले गरेको उनको भनाई थियो ।

प्रदेश सरकारले स्थानीय तहको सिफारिसका आधारमा बागमती प्रदेशमा ८५ वटा पकेटक्षेत्र घोषणाको तयारी गरेको उनले बताए । समुदायमा आधारित उत्पादन मोडल अनुसार सरकारले स्थानीय र प्रदेश सरकारसंग कृषक, निजी क्षेत्र र सहकारीलाई जोड्ने तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए । यो मोडल अनुसार उत्पादनवृद्धिका लागि प्रदेश र स्थानीय तहको लगानीमा कृषकलाई सहयोग गर्दै बजारीकरणमा निजी क्षेत्रसँगको सहकार्य गरिने उनले बताए ।

कार्यक्रममा मकवानपुरका सांसद महेशकुमार बर्तौलाले रोष्टममै पुगेर मकवानपुरमा अति आवश्यक रहेको योजनाबारे जानकारी गराउँदा पनि रकम नछुट्याएर सरकारले अन्याय गरेकोमा गुनासो पोखे । थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष ढकालले कृषि पर्यटनलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित महोत्सवमा लोपोन्मुख सामानको प्रदर्शनी, कृषि उपज, अटो प्रदर्शनी, सूचनाप्रविधिसम्बन्धि जानकारी, दैनिक उपभोग्य सामग्रीको बिक्रीलगायत २ सय ३० वटा स्टल रहने बताए । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकार, स्थानीय कलाकार र थाहा आइडल (एकलनृत्य) को प्रस्तुती रहने उनले जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, सांसद प्रेमबहादुर पुलामी छिन्तु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल लगायतको आतिथ्यता रहेको थियो । उद्घाटनअघि थाहानगरको ओखरबजारबाट विशेष झाँकी र बाजागाजासहित विशाल शोभायात्रा गरिएको थियो । शोभायात्रामा परम्परागत सांस्कृति झाँकीहरुसहित थाहा खैजडी भजन, महिला पन्चेबाजा, महिला खैजडी भजन, तामाङ ढयांग्रो, महिला समूहहरु, स्थानीय स्काउट, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*