हिंसाजन्य गतिविधि रोक्न प्रहरी संधै तयारीः डिआइजी राणा
हेटौंडा- बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा लैंगिकहिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तरगत बिहिबार एक दिवासीय छलफल तथा अन्तरक्रिया भएको छ ।प्रहरी नायबमहानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिआइजी राणाले लै·िकहिंसा विरुद्ध सुरक्षा निकायबाट भए गरेकाक्रियाकलापको बारेमा जानकारी गराइएको थियो । उनले हिंसाजन्य गतिबिधि रोक्न प्रहरी सदैव लागीपरेको बताउँदै एकीकृत सेवाका बारेमा, लैगिंकहिंसा पीडितलाई आश्रय दिने, घाइते भए उपचार गर्ने, सामाजिक मनोविमर्श दिने, कानूनी सल्लाह उपलब्धगराउने र पुनस्र्थापनाको लागि पहल गर्ने कार्य प्रदेश प्रहरी कार्यालयबाट गरिरहेको बताइन् ।
उनले मातहतका १० जिल्लामा लैंगिक तथा घरेलुहिंसासँग सम्बन्धित अपराधको अनुसन्धान गर्नका लागि अपराध अनुसन्धान शाखा र महिला तथा बालबालिका सेवाकेन्द्रको स्थापना गरी तालिम प्राप्त जनशक्ति परिचालन गरिएको प्रहरी कर्मचारीलाई मानववेचविखन, महिलाहिंसा, घरेलुहिंसा, लैंगिकहिंसा, मानवअधिकार उल्लंघनलगायतका बिषयमा तालिमको लागि तालिमप्रदायक निकायसँग समन्वय गरी तालिम प्रदान गरिदै आएको बताइन् । प्रहरीद्वारा सञ्चालित कार्यक्रममा सक्रिय सहभागिता समन्वय र सहकार्य, पीडितलाई परामर्श र सहयोग प्रदान, पीडितको उद्दार तथा पुनस्र्थापनामा सहयोगका लागि नागरिक समाजबाट पनि अपेक्षा रहेको बताइन् ।
‘लैंगिकहिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ यो वर्ष अभियानका साथ थालनी गरिएको लैंगिकहिंसाबिरुद्धको १६ दिने अभियानअन्तरगत भएको अन्तरक्रियामा प्रहरी बरिष्ठउपरीक्षक दीपक रेग्मीले लैंगिकहिंसाविरुद्धको १६ दिने अभियानको पृष्ठभूमि, लैंगिक, घरेलुहिंसाको परिचय, प्रकार, कारण, कानुनी व्यवस्था र सहायता जस्ता बिषयमा प्रस्तुती दिएका थिए ।
उनले लैंगिकहिंसा तथा घरेलुहिंसाका घटना प्रदेशगतरुपमा डरलाग्दो तथ्यांक रहेकाले यसको समाधानको लागि सबै तहबाट पहल हुनुपर्नेमा जोड दिए । उनले लैंगिकहिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्यसञ्चालन बिधि २०७८ वमोजिम बागमती प्रदेशका १० वटै जिल्लामा जिल्लास्तरिय १०, महानगरपालिकास्तरीय १, नगरपालिकास्तरीय २५, गाउपालिकास्तरीय–६१, वडास्तरीय–७ सय ७५ गरी जम्मा ८ सय ७२ वटा लैंगिकहिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको बताए ।
बागमती प्रदेशका १० जिल्लामा सामुदायिक प्रहरीमार्फत लैंगिक, घरेलुहिंसासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम दैनिकरुपमा सञ्चालन गरिरहेको समेत बताए । बागमती प्रदेशमा चालु आ.ब. २०८०÷८१ मा ४ सय २२ वटा घरेलुहिंसा र ३ सय ६४ लैंगिकहिंसाका घटना भएको बताए । कार्यक्रममा मकवानपुरका महिला संजाल प्रतिनिधि, नागरीक समाजका प्रतिनिधि तथा संचारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रमलाई प्रहरी नायबउपरीक्षक मधु थापाले सहजीकरण गरेका थिए ।







