मकवानपुरगढीमा जग्गा भाडामा लिएर खेतीगर्ने कृषकलाई काइदा

साझाकुरा
२०८० मंसिर १५, शुक्रबार ११:३९

हेटौंडा- जमिन बाँझो हुन थालेपछि कृषकलाई बाली उत्पादनसँग जोड्ने उद्देश्यले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले खेतीगर्न कृषकलाई प्रोत्साहन गरेको छ । पालिकाले जमिन भाडामा लिएर खेतीगर्न चाहने कृषकलाई भाडावापतको रकम उपलब्ध गराउने भएको हो ।पालिकाले पहिलोपटक कृषि विकास कार्यक्रमअन्तर्गत् पालिकाभित्र र बाहिरका जोसुकैले बाली उत्पादन गर्नका लागि जमिन भाडामा लिन चाहेमा भाडा पालिकाले व्यहोर्ने भएको कृषि शाखाप्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । कृषकले खेती गरे पनि कहिलेकाहीँ असिना, पानी र बालीनालीमा लाग्ने रोगका कारण उत्पादन घट्ने र जग्गाको भाडासमेत तिर्न नसक्ने गुनासो आएपछि पालिकाले यो कार्यक्रम ल्याएको उनले बताए ।

पालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत वार्षिक कार्यक्रम तथा कृषि विकास कार्यक्रमअन्तर्गत् पहिलोपटकमा भाडाबापत ५ लाख रुपैयाँ बराबर भुक्तानी गर्ने उनले बताए । अहिले पालिकाले २ सय ५० रोपनी क्षेत्रफल जमिनलाई यो रकम उपलब्ध गराउने छ । वार्षिक प्रतिरोपनी २ हजार रुपैयाँका दरले भाडाबापतको रकम उपलब्ध गराउने भएको हो । भाडामा लिएर खेती गरिरहेका इच्छुक कृषक, कृषक समूह, सहकारी, कृषि फर्म, कम्पनीहरुले पुस ११ गतेसम्म निवेदन दर्ता गर्न पालिकाले सूचना जारी गरेर आग्रह गरेको छ । गाउँपालिकाभित्रका विपन्न, सीमान्तकृत, दलित, जनजाति साथै बेरोजगारको सूचीमा परेकालाई विशेष प्राथमिकता दिइने पालिकाको सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*