हेटौंडा इजलाशमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाई प्रारम्भ
हेटौंडा- उच्चअदालतका हेटौंडा, जुम्ला, महेन्द्रनगर र धनकुटा इजलाशमा बिहीवारदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ ।सर्वोच्च अदालतमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी चार उच्चअदालतमा श्रव्यदृश्यमार्फत सुनुवाइको प्रारम्भ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरेका हुन् । उच्चअदालत पाटन हटौंडा इजलाशका सूचना अधिकारी केदारनाथ अर्यालले मुद्दाको सुनुवाई प्रारम्भ भएपश्चात बिहीवार हेटौंडा इजलाशमा बहस सुरु भएको जानकारी दिए । चारवटा इजलाशमध्ये बिहीवार हेटौंडा र धनकुटाबाट बहस नै सुरु भएको हो ।
अन्य दुई इजलाशमा श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ भए पनि बहस सुरु नभइसकेको जनाइएको छ ।उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिको माध्यमबाट मुद्दाको सुनुवाइ गर्दा समयको बचत हुने, कम खर्चिलो हुने र आम जनतामा न्यायमा पहुँच पुग्ने उद्देश्यले सेवा प्रारम्भ गरिएको जानकारी दिए । ‘प्रविधिको माध्यमबाट न्यायमा पहुँच पु¥याउने कामको सुरुवात गरिरहेका छौं, नेपालको भूधरातलीय स्थितिले गर्दा दुर्गम क्षेत्रमा मानिसलाई एक गाउँबाट अर्को ठाउँमा पुग्न निकै कठिनाइ हुन्छ ।’
प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘छिटो छरितो, सरल, सुलभ तरिकाले प्रविधिमार्फतनागरिकमा न्यायमा पहुँच पु¥याउने उद्देश्यले सुरु गरिएको हो, सबै उच्चअदालतमा यो सेवा आगामी दिनमा गरिने तयारी छ ।’,सर्वोच्च अदालतमा कोभिड–१९ का समयमा श्रव्यदृश्यका माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको थियो । अहिले देशभरको जुनसुकै स्थानबाट पनि कानुन व्यसायीले सर्वोच्च अदालतमा आफ्नो मुद्दामा बहस गर्न सक्ने भएका छन् । त्यस्तै एक वर्षअघि उच्चअदालत दिपायल र इलाममा पनि मुद्दाको सुनुवाइ श्रव्यदृश्यमार्फत बहस सुरु गरिएको थियो । अनलाइनबाट मुद्दाको सुनुवाइ गर्दा कानुन व्यवसायीले आफ्नै ठाउँमा बसेर मुद्दामा बहस गर्न सक्नेछन् । मुद्दाको अनलाइनबाट सुनुवाइ गर्नका लागि एउटा निवेदन दिनुपर्ने छ ।







