बालमैत्री उपमहानगर घोषणाको तयारी तीव्र
हेटौंडा- चालु आर्थिक वर्षमा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको तयारीलाई तीब्र पारिएको छ । वडातहमा सहजकर्ता खटाएर बालमैत्री वडासँगै सिंगो पालिकालाई व्यवस्थित ढंगबाट बालमैत्री उपमहानगर घोषणा तयारीलाई तीब्रता दिइएको हो ।उपमहानगरले नियुक्त गरेको वडा सहजकर्तामार्फत भएको कामको अनुगमन र नियमनको पाटोलाई अघि बढाउँदै अहिले वडातहको अनुगमन थालिएको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।नगरउपप्रमुख राजेश बानियाँको नेतृत्वमा वडामा
भएका काम, निर्माण भएको बालसञ्जालसँगको छलफल, विद्यालयको अनुगमन गर्ने काम भैरहेको उपमहानगरको महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमरी लामिछानेले बताइन् । उनका अनुसार तयारी अनुसार उपमहानगरको आयोजनामा बालमैत्री स्थानीय शासनका सूचक मापनयोग्य सरलीकरण कार्यशाला गरिएको
छ ।
कार्यशालामा नगरप्रमुख मीनाकुमारी लामाले विकासको पहिलो सूचक मानवचेतना भएको बताइकी थिइन् । उनले भौतिक विकास भन्दा पनि मानव विकासमा ध्यान दिँदै अघि बढ्न जरुरी रहेको भन्दै उपमहानगरले थालेको बालमैत्री अभियानलाई सार्थकता दिन सबैको सहयोग आवश्यक रहेको बताइन् । चालु आर्थिक वर्षको मंसिरमा बालमैत्री पालिका घोषणा गर्ने लक्ष्य सहित काम भैरहेपनि पूर्णरुपमा तयारी नभएकाले अहिले वडाहतबाट घोषणाको क्रमलाई अघि बढाउने नगरप्रमुख लामाले बताइन् ।
कार्यशालामा नगरउपप्रमुख राजेश बानियाँ, बिभिन्न वडाका अध्यक्षहरु, नगरका बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारी, वडा कार्यालयका सचिवहरु र उपमहानगरका बिभिन्न महाशाखा प्रमुखहरुको सहभागिता थियो । बालमैत्री पालिका घोषणाको तयारी अनुसार ७, ८ र ९ नम्बर वडाको अनुगमन थालिएको छ । अनुगमनमा वडाका जनप्रतिनिधि, महिला तथा बालबालिका महाशाखा प्रमुख लामिछाने, सम्पर्क व्यक्ति शान्ति बिश्वकर्मा, बालमैत्री स्थानीय शासनका श्रोतव्यक्ति बिष्णुप्रसाद चौवे सहित नगर र वडाका सहजकर्ता सहभागी छन् ।
वडातहबाट कार्यक्रम कार्यान्वयनका लागि सूचकको अवस्था मापन तथा बालबालिकाका लागि आवधिक लगानी योजना निर्माणबारे छलफल गर्दै बालमैत्री स्थानीय शासनलाई कार्यान्वयनको चरणमा लैजान लागिएको बताइएको छ । अनुगमनसँगै छलफलको काम हेटौंडा–८ बाट सुरु गरिएको उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाले जनाएको छ । मकवानपुरको मनहरी गाउँपालिका नेपालको पहिलो बालमैत्री गाउँपालिका बनेको थियो ।







