मकवानपुरमा दुईजना मान्छे मारेको बाघ तीन रात साँघुरो खोरमा

साझाकुरा
२०८० मंसिर १६, शनिबार १०:३४

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका क्षेत्रमा दुईजना मान्छे मारेपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघको तीन रात साँघुरो खोरमा अटेसमटेस भएर बिते ।निकुञ्जको प्राविधिक टोलीले सोमबार राति पौने नौ बजेतिर मकवानपुर मनहरी गाउँपालिका–६ मा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतको जोगीतालइलाकाबाट मान्छे खाएको बाघलाई नियन्त्रणमा लिएको थियो । त्यो बाघ नियन्त्रणमा लिएका बेला राखेको साँधुरो खोरमै बिहीबार साँझसम्म बस्यो । नियन्त्रणमा लिएका बाघ
राख्न बनाएका फराकिला खोरहरु अहिले प्रायःभरिएका छन् ।

‘तीन दिनसम्म प्रयास गरेर बल्लतल्ल व्यवस्थापन गर्न सकेका छौं,’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले भने । सोमबार समाएपछि यो बाघलाई सानो खोरबाट नझिकी निकुञ्जको मुख्यालय कसरामा नै राखिएको थियो । बिहीबार साँझ बाघलाई सौराहा लगेर ठूलो खोरमा राखेको तिवारीले बताए । सौराहामा दुईवटा बाघ अटाउने खोर पनि खाली थिएन । कसरामा चारवटा बाघ अटाउने खोर त थिए तर, ति पनि पुरै भरिएका थिए ।

‘सौराहामा रहेको अलि बलियो बाघलाई बर्दिया खोरमा राख्न पठाएर कमजोर अवस्थामा नियन्त्रणमा लिएको यो बाघलाई सौराहाको खोरमा राखिएको हो,’ तिवारीले भने । बर्दियामा पनि बाघले खोर भरिएका छन् । तर, जेनतेन व्यवस्थापन गरेर एउटा बाघ अटाउने बनाएको तिवारीले बताए । नियन्त्रणमा लिएका बाघ राख्न चितवनसहित बर्दिया, पर्सा र बाँके निकुञ्जमा खोरहरु रहेकाछन् । तर, सबै तिरका खोर भरिभराउ रहेका छन् । मान्छे खान पल्केको बाघलाई नियन्त्रणमा नलिए थप दुर्घटना गराउने जोखिम हुन्छ ।

सोमबार साँझ नियन्त्रणमा लिएको बाघले जोगिताल इलाकामा घाँस काट्न गएका चितवन राप्ती नगरपालिका–१ पिप्ले दुबिचौरका ४३ वर्षीय हरि पौडेललाई आक्रमण गरेर ज्यान लिएको थियो । यो घटनापछि बाघलाई नियन्त्रणमा लिन गएको टोलीले सोही ठाउँमा बाघले आक्रमण गरेर मारेको अर्को शव पनि फेला पारेको थियो । मान्छेलाई आक्रमण गर्ने बाघहरु नियन्त्रणमा लिनुपर्ने बाध्यता नै हुन्छ । त्यस्ता बाघ कहाँ राख्ने ? भन्ने समस्या पनि उत्पन्न भएको छ । बाघ बढेसँगै मान्छेमाथि आक्रमण गर्ने घटना पनि बढेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*