मनकामना दुग्ध उत्पादक सहकारीको साधारणसभा

साझाकुरा
२०८० मंसिर १६, शनिबार १०:४४

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको शुक्रबार ३६ औं वार्षिक साधारणसभा भएको छ ।संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामास्याङ्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभालाई सम्बोधन गर्दै अध्यक्ष स्याङतानले दूधलाई विविधिकरण गरी मिल्क होलिडे हटाउन सकिने बताएकाछन् ।

मिल्क होलिडेको अन्त्य गर्न स्थानीय सरकारको साथ सहयोग रहने बताए । उनले पछिल्लो समय दुध बिक्रीमा समस्या आएको भन्दै छिमेकी राष्ट्रसँगको खुला सीमाना, उत्पादन बढ्दो तर, खपतमा कमीको कारण पनि मिल्क होलिडे भएको बताए ।अध्यक्ष स्याङ्तानले स्थानीयस्तरमा उत्पादित वस्तुलाई गाउँपालिकाले प्रोत्साहन गर्ने बताउँदै गढीको २ वडामा रहेको धरमपानीको खाली जग्गामा स्थानीयस्तरमा उत्पादित वस्तुको विक्री कक्ष राख्ने बताए । बजारीकरणमा ध्यान दिनुका साथै बजारमा आफ्नै बिक्रीकक्ष राख्नुपर्ने सुझाए ।

रैथाने बालीलाई प्रवद्र्धन गर्दै अहिले विद्यालयमा दिवाखाजाको रुपमा प्रयोग गरिएको बताउँदै पालिका क्षेत्रमा छिट्टै नै चिसोजन्य पदार्थको विक्री वितरणमा रोक्नुका साथै दुध र दुधजन्य पदार्थ, मोहीको प्रयोग गर्ने नीति नियम बनाउने बताए ।

साधारणसभामा संस्थाका अध्यक्ष दाहालले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले १० करोड ८९ लाख ८४ हजार २८० रुपैयाँको कारोबार गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा संस्थाले १० करोड ८८ लाख ४४७ रुपैयाँको दुध बिक्री गरेको छ भने किसानसँग १० करोड २५ लाख १६ हजार ७९९ रुपैयाँको दुध खरिद गरिएको संस्थाका व्यवस्थापक शशि लम्सालले बताईन् । संस्थाको १७ लाख ४० हजार शेयरपुजीँ रहेको छ ।

साधारण सभामा गाउँपालिकाका पूर्वअध्यक्ष विदुर हुमागाई, राष्ट्रिय सहकारी महासंघका पूर्वसञ्चालक बद्रीप्रसाद लम्साल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, व्यवस्थापक कुमारमणि दाहाल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, श्रमीक सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साललगायतले आफ्नो भनाई राखेका थिए । सहकारी संस्थाले दुध, घ्यु, दही, पनिर, नौनी लगायत परिकार उत्पादन गरी बिक्री गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*