चौकीटोल–लालझाडी पुल निर्माणमा जनप्रतिनिधिको चासो
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१ को चौकीटोल–लालझाडी पक्की पुल निर्माण छिटो गर्न निर्माण व्यवसायीलाई जनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन् प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद महेश बर्तौला र हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेले पुल निर्माण छिटो सकेर नागरिकको जीवनयापनमा सहजता ल्याउन निर्माण व्यवसायीको ध्यानाकर्षण गराएका हुन् । हेटौंडा उपमहानगर पालिकाको वडा नम्बर १ स्थित राप्तीखोलाको चौकीटोल–लालझाडी पक्की पुल निर्माणमा ढिलाई भएको भन्ने स्थानीयको व्यापक गुनासो पछि यातायात निर्देशनालय, स्थानीय, जनप्रतिनिधि र निर्माण व्यवसायी सहितको त्रिपक्षीय छलफल भएको थियो ।
छलफलका क्रममा स्थानीयले आफूहरु बर्सेनि पुल बन्ने आशामा बस्ने गरेको तथा पुलको काम सुस्त भएको हुंदा आफूहरु तुइन र साँघु तर्न बाध्य भएकोले पुलको काम किन ढिला भयो भनेर प्रश्न गरेका थिए । उनीहरुले बगरमा दुई वटा मेसिन आएर बस्ने तर, काम भने नभएको भन्दै ठेकेदार वा कार्यालय कस्को कमजोरीले गर्दा काम नभएको हो भनेर प्रश्न गरेका थिए । छलफलका क्रममा निर्माण व्यवसायी मिलन पाठकले पुलको काम ढिलाई हुनुमा आफ्नो दोष नभएको तथा कार्यालयले डिजाईन स्टमेट परिवर्तन गर्दा र पछिल्लो बजारको मन्दिले गर्दा काममा समस्या भएको प्रस्ट्याएका थिए ।
उनले आफूले काम गर्न इच्छुक भएको वताउदै मेसिन तथा आवस्यक सरसामान निर्माणस्थलमा खसालेको तथा आफूलाई काम गर्ने वातावरण तैयार पार्न स्थानीयबासी, जनप्रतिनिधि तथा पूर्वाधार कार्यालयलाई अनुरोध गरेका थिए । छलफलका क्रममा मकवानपुर २ बाट निर्वाचित सांसद बर्तौलाले स्थानीय जनताहरु बर्सेनि राप्तीबाट प्रताडित भएको बताउँदै काममा समस्या आए आफू पनि आवस्यक वातावरण बनाउन तैयार भएको तर, पुल निर्माणमा ढिलाई नगर्न आग्रह गरेका थिए । यातायात पूर्वाधार निर्देशनालय प्रमुख लोकनाथ रेग्मीले कार्यालयको तर्फबाट कुनै व्यवधान नरहेको प्रस्ट्याउदै आफूले पेमेन्टमा पनि ढिला नगर्ने तर, काम भने छिटो हुनुपर्ने उल्लेख गरे ।
हेटौंडा–१ का वडाअध्यक्ष न्यौपानेले वडा कार्यालयले आवस्यक वातावरण बनाउन र काममा श्रमदान दिन समेत स्थानीय तयार रहेको वताए । तीनपक्षीय छलफल पछि निर्माण व्यवसायीले कामको सेड्युल तैयार गरी कार्यालयमा एक साताभित्र बुझाउने र त्यसैअनुरुप काम सम्पन्न गर्ने सहमति समेत भएको छ ।







