आर्थिक भारको सारथी टोल विकास संस्था

साझाकुरा
२०८० मंसिर १७, आईतवार ०९:५०

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–५ का अध्यक्ष सुशील घिमिरेले सानोतिनो खर्चको लागि धितो खोज्नुपर्ने बाध्यताबाट माथि उठ्न टोल विकास संस्था महत्वपूर्ण भएको बताएका छन् ।टोल विकास संस्थाले टोलको हरेक क्रियाकलापमा सहभागी हुँदै विकास र रचनात्मक कार्यमा अग्रभागमा खटिने गरेकोमा उनले खुसी व्यक्त गरे । हेटौंडा–५ सिंचाइ टोलस्थिति मनकामना पार्क टोल विकास संस्थाको २२ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । सिचाई हुँदै मकवानपुरगढीस्थित मनकामना मन्दिर जाने बाटोका मन्दिरहरुलाई आकर्षक बनाएर विकासलाई अघि बढाउने, खुला ब्यायामशाला तथा खानेपानीको व्यवस्थापन गर्नमा ध्यान केन्द्रित रहने उनले बताए ।

संस्थाको अध्यक्ष जानुका संजेलको अध्यक्षतामा भएको बार्षिक साधारणसभा प्रभा–अनुज शैक्षिक अक्षय कोषका संरक्षक कृष्णप्रसाद धितालले शैक्षिक प्रगतिमा पनि टोल विकास संस्थासंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले टोल विकास संस्थाले टोलमा आयमूलक कामको सृजना नगरेको प्रति आपत्ति प्रकट गरे । उनले टोलको सरसफाइमा चासो दिनुपर्ने बताए ।

यसैगरी टोल विकास संस्था नगरसमन्वय समितिका महासचिव शिबहरि दाहालले टोलमा रहेका ज्येष्ठ नागरिक, बालबालिका, युवाको लागि बिशेष कार्यक्रम गर्नुपर्ने बताए । हेटौंडा उपमहानगरपालिका–५ का वडा टोल विकास समन्वय समिति संयोजक टीकाबहादुर खड्काले विकाससँगै रचनात्मक कार्य गरेर अघि बढ्नुपर्ने बताए । वडाको विकास निर्माणका काममा समन्वय र सहकार्य गरेर उत्कृष्ट टोल बन्नुपर्ने खड्काले बताए ।

वडासदस्य रामबहादुर राईले थोरैथोरै भनेपनि बचत र खर्च कटौती गर्नुपर्ने, उद्यमशीलतामा जोड्नुपर्ने, टोललाई पर्यटकीय क्षेत्रको रुपमा अघि बढाउन लागिपर्नु पर्ने सुझाव दिए । टोल विकास संस्थाले आफ्नो संस्थाको सदस्य परिवारबाट यसवर्ष एसईई नतिजामा उत्कृष्ट भएका साईरा उपाध्याय, निश्चल दाहाल, सिद्धान्त सुवेदी र शिशिर खराललाई पुरस्कार सहित सम्मान गरिएको संस्थाको सचिव भीमा गुरागाईले बताइन् ।

साधारणसभामा संस्थाका अध्यक्ष संजेलले संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष विश्वप्रसाद गौतमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा हाल ५८ लाख कारोवार रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थामा २ सय २१ जना बचतकर्ता रहेको अध्यक्ष संजेलले बताइन् । कार्यक्रम मनकामना खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटा, शुभकामना बालक्लबको सचिव स्वरुपा गुरागाई लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*