जिसस मकवानपुरको वार्षिक समीक्षा

साझाकुरा
२०८० मंसिर १९, मंगलवार ११:५५

हेटौंडा- जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा सोमबार हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा कार्यक्रम भएको हो । मकवानपुरका १० वटै स्थानीय तहको सहभागिता रहेको कार्यक्रममा स्थानीय तहले गरेका काम, काम गर्दा आएका समस्या र आगामी दिनमा स्थानीय तहले गरेका अपेक्षाका बारेमा प्रस्तुतीकरण गरेका थिए । सबै पालिकाको प्रस्तुतीमा नदिजन्यपदार्थको राजश्व संकलनमा समस्या औँल्याइएको थियो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री लामाले संघीय व्यवस्था कमजोर नहुने गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् । पछिल्लो समय देशमा तीनवटै तहले आफ्नो अधिकारको मात्रै विषय उठान गर्दा एकआपसमा अन्तद्र्वन्द्व जस्तो स्थिति पैदा भएको उनले उल्लेख गरेका छन् । तहगत सरकारबीचमा अन्तद्र्वन्द्व हुँदा संघीयता कमजोर हुनसक्ने भन्दै मन्त्री लामाले सरोकार पक्ष सबै यसमा गम्भीर बन्नुपर्ने बताएका छन् ।

संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका अहिलेको प्रमुख आवश्यकता रहेकोमा मन्त्री लामाले जोड दिए । तीनवटै तहका सरकारबाट बन्ने नीति, नियम, मापदण्ड गहन अध्ययन गरी निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । देशमा आर्थिक तरलता रहेको भन्दै मन्त्री लामाले यसको असर तीनवटै तहका सरकारमाथि परिरहेको जिकिर गरेका छन् ।

बागमती प्रदेश सांसद एकालाल श्रेष्ठले स्थानीय स्रोतसाधनको समुचित प्रयोग हुनुपर्ने, स्थानीय तहले जनताको चित्त बुझ्ने गरी काम गर्नुपर्नेमा जोड दिए । प्रदेश र संघमा समुचित बजेट विनियोजन हुन नसकेको भन्दै सांसद श्रेष्ठले योजना र बजेट मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित भएर जाने गरेको गुनासो गरेका छन् । यसैगरी, कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख घलानले प्राकृतिकस्रोतको उपयोग गर्ने नीतिहरु बन्ने क्रममा रहेको र आर्थिक समृद्धिका लागि त्यस किसिमका नीति आवश्यक रहेको बताएका छन् ।

जिसस मकवानपुरले वार्षिक समीक्षामा फरकफरक विधाका संस्था तथा व्यक्ति १२ जनालाई सम्मान गरेको छ । सहकारी विधा अन्तर्गत श्रमिक सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, मकवानपुरगढी र जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । यस्तै, गैह्रसरकारी संस्थातर्फ शान्ति फाउण्डेशन मकवानपुर र ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरलाई सम्मान गरिएको छ ।

कर्मचारीतर्फ जिल्ला समन्वय समिति मकवानपुरका खरिदार अमृता खनाल र कैलाश गाउँपालिकाअन्तर्गत कार्यरत सिनियर अनमी आशाकुमारी गुरुङ झा, बकैया गाउँपालिकाका सहायक पाँचौं तहका कर्मचारी मनिषा पराजुली सम्मानित भएकी छन् । समाजसेवातर्फ ‘फरक सोच अभियन्ता’ थाहा नगरपालिकाका यादवजंग रायमाझी सम्मानित भएका छन् । यस्तै, खेलकुदतर्फ कराँतेमा, थाहा नगरपालिकाका मानसिं दोङ सम्मानित भएका छन् । सामुदायिक वनतर्फ सिमपानी देउकोट सामुदायिक वन उपभोक्ता समूह मनहरी सम्मानित भएको छ । शिक्षातर्फ इन्द्रसरोवर गाउँपालिकाका चन्द्र आधारभूत विद्यालय सम्मानित भएको छ । महिला उद्यमीतर्फ गीता मैनाली सम्मानित भएकी छन् ।

समीक्षा कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ र प्रेमबहादुर पुलामी, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीप्रमुख प्रहरीउपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक अनिल कार्की, स्थानीय तहका प्रमुख, उपप्रमुख, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*