मनहरीमा निकुञ्ज र सरोकारवालाबीच अन्तरक्रिया

साझाकुरा
२०८० मंसिर २०, बुधबार ११:२२

हेटौंडा-मनहरी गाउँपालिका–६ को कार्यालयले राष्ट्रिय निकुञ्ज र सरोकारावालाबीच अन्र्तक्रिया कार्यक्रम गरेको छ । मंगलबार वडा कार्यालय भवनमा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि र मध्यवर्ती वन उपभोक्ता समितिका पदाधिकारीबीच अन्र्तक्रिया गरिएको हो । अन्र्तक्रियामा विशेषगरी वन्यजन्तुबाट स्थानीय त्रसित भएको र निकुञ्जले बेवास्ता गरेको गुनासो गरेका थिए ।

पछिल्लो एकसातामा मात्रै बाघको आक्रमणबाट २ जनाको मृत्यु भएपछि निकुञ्जको चौतर्फी आलोचना बढेको स्थानीयको भनाई छ । यसअघि पनि स्थानीयले विरोध गरेपनि विशेषगरी वन्यजन्तुले मानिसको ज्यान लिएपछि बढी आक्रोशित भएका छन् । निकुञ्ज प्रशासनको ध्यान ढुंगा, गिट्टी, बालुवा र खोलानाला मात्र भएकाले वन्यजन्तुले मानिसको जनधनमा पु¥याएको क्षतिमा बेवास्ता गरेको स्थानीयको बुझाई छ ।

कार्यक्रममा ६ नं वडाअध्यक्ष युवराज थपलियाले नागरिकको अप्ठ्यारोमा निकुञ्ज प्रशासन मौन रहेको जिकिर गरे । ‘वन्यजन्तुले दिनहुँजसो समस्या दिन्छ र जनताले स्थानीय सरकारलाई गुनासो गर्छन्’, वडाअध्यक्ष थपलियाले भने ‘तर, निकुञ्जको कानुनले गर्दा हामी मुकदर्शक हुन बाध्य भएका छौं ।’ यस्तै चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्तबहादुर मगरले जनचेतनामूलक कार्यक्रम गरी जनतालाई सचेत बनाउन आवश्यक रहेको बताए । सीमित श्रोत र ऐनको बाध्यताले आफूहरुले केही गर्न नसकेको भन्दै माथिल्लो स्तरमा कुरा राखी आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले दीर्घकालीन समाधानको बाटो खोज्नुपर्ने बताए । चितवन लगायतका क्षेत्रहरुमा आरसिसि पर्खाल निर्माण गरिएको उदाहरण दिँदै छिट्टै नै संघ तथा प्रदेश सरकारसँग समन्वय गरी आवश्यक वजेटका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*