बागमती सरकारद्वारा ५ जनालाई सचिवमा बढुवा

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश निजामती ऐन २०७९ अनुसार ५ जना कर्मचारीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।प्रदेश सरकारको बुधवार बसेको बैठकले ऐन अनुसार ५ जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको हो । बैठकले स्वास्थ्यतर्फको ४ र शिक्षा सेवातर्फको एक गरी ५ जनालाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको हो । प्रदेश निजामती कर्मचारी ऐन २०७९ अनुसार ११ औँ तहका कर्मचारी प्रदेश सचिव हुने व्यवस्था रहेको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्यतर्फ दीपक तिवारी, वसन्त अधिकारी, डा. अर्जुनप्रसाद सापकोटा र डा. नरेन्द्रकुमार झालाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिए ।
उनका अनुसार यस अघि नै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरी उनीहरुलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, अदालतमा मुद्दा परेपछि बढुवा प्रक्रिया रोकिएको थियो । अदालतले मुद्दासम्बन्धी रिट खारेज गर्ने निर्णयसँगै प्रक्रिया अघि बढाइएको हो । प्रदेश सरकारको यसअघिको निर्णयअनुसार बढुवा समितिको वैशाख ११ गते ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने निर्णय गरेको थियो भने असार २२ गते सूचना प्रकाशन गरेको थियो ।
यो निर्णयविरुद्धमा गत साउन ९ गते उच्चअदालत पाटन हेटौंडा इजलासमा रिट निवेदन दर्ता भएको थियो । संघीय सरकारको निजामती ऐनसँग बाझिने गरी प्रदेश सरकारले हेल्थ इन्स्पेक्सन र एकीकृत चिकित्सा समूहको बढुवा गरेको भन्दै डा. हरिबहादुर खड्का सहित ९ जनाले उच्चअदालत पाटन हेटौंडा इजलासमा मुद्दा दायर गरेका थिए । सो मुद्दामा उच्चअदालत पाटन हेटौंडा इजलासले साउन १० गते संघीय निजामती ऐनसँग बाझिने गरी प्रदेश सरकारले हेल्थ समूहबाहेक हेल्थ इन्स्पेक्सन र एकीकृत चिकित्सा समूहबाट गरेको बढुवाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश गरेको थियो ।
न्यायाधीश निर्मला शाक्यको इजलासले बढुवामाथि उत्प्रेषणयुक्त परमादेश जारी गरेको हो।बढुवा नियमसंगत नभएको भन्दै रद्द गर्न माग गरिएको मुद्दामा उच्चअदालत हेटौंडा इजलासले रिट निवेदन खारेज गरेको थियो । मंसिर १८ को इजलासले माग दाबी नपुगेको भन्दै सो रिट निवेदन खारेज गरेको उच्चअदालत हेटौँडा इजलासका सूचना अधिकारी केदारनाथ अर्यालले जानकारी दिए ।
रिट निवेदन खारेज भएसँगै मन्त्रिपरिषद् बैठकले उनीहरुलाई ११ औँ तहमा बढुवा गरी नियुक्त गरेको हो ।मन्त्रिपरिषद् बैठकले शिक्षा सेवातर्फका दीपेन्द्र सुवेदीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले यसअघि विभिन्न समयमा बसेको बैठकको निर्णय अनुसार १२ जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरिसकेको छ । त्यस्तै बैठकले बहुवर्षीय योजना र ठेक्कालाई व्यवस्थापन गर्न बागमती प्रदेश आयोजनाको बहुवर्षे ठेक्का मापदण्ड २०८० कार्यविधि स्वीकृत गरेको छ ।