बंगलादेश–नेपाल उवासंघ भ्रमण टोलीसँग हेटौंडामा छलफल

साझाकुरा
२०८० मंसिर २२, शुक्रबार ०९:२७

हेटौंडा-बंगलादेश–नेपाल उद्योग वाणिज्य संघको भ्रमण टोलीसँग हेटौंडामा व्यावसायिक छलफल गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताअग्रवालको अध्यक्षतामा संस्थागत तथा व्यावसायिक सम्बन्धबारे छलफल गरिएको हो । बंगलादेश–नेपाल उवासंघका वरिष्ठ उपाध्यक्ष नवीन थापाको नेतृत्वमा चारजना बंगलादेशी व्यवसायी भ्रमण टोलीमा सम्लग्न थिए । मउवासंघका अध्यक्ष गुप्ताले छलफलमा मकवानपुरलाई प्राथमिकता दिई आएकोमा भ्रमण टोलीलाई धन्यवाद ज्ञापन गर्दै व्यावसायिक सम्बन्ध विस्तारको लागि अनुरोध गरे ।

उनले मउवासंघले संस्थागत विकासको साथसाथमा गरेका सामाजिक तथा परोपकारी क्रियाकलापबारेमा जानकारी गराए ।मउवासंघका पूर्वअध्यक्ष तथा बंगलादेश–नेपाल उवासंघका उपाध्यक्ष अरुणराज सुमार्गीले बंगलादेशबाट उद्यमीहरु नेपाल आउनुले दुवै देशका व्यवसायीले व्यवसाय विस्तारको अवसर पाउने बताए । बंगलादेशबाट सानाउद्यम, कृषिउद्यम र गार्मेन्टबारे ज्ञान लिनसकिने बताउँदै मउवा संघको प्रतिनिधि मण्डल बंगलादेश जाने तयारी रहेको उनले बताए ।बंगलादेश–नेपाल उवासंघका वरिष्ठ उपाध्यक्ष थापाले बंगलादेश–नेपाल उद्योग वाणिज्यसंघ स्थापित गर्न निक्कै मेहनत गर्नुपरेको, बंगलादेशी व्यवसायी प्रतिनिधिलाई यो पहिलोपटक नेपालमा संस्थागतरुपमा आमन्त्रण गरिएको र मउवा संघको बंगलादेश भ्रमण भएमा बंगलादेश–नेपाल उवासंघको सहजिकरणमा पहिलो भ्रमण हुने बताए ।

त्यसैगरी बंगलादेशी प्रतिनिधिले बंगलादेशको जनसंख्या नेपालको भन्दा करिव सात गुणा बढी रहेको, दक्ष जनशक्ति उपलब्ध रहेको, बंगलादेश हरेक हिसावले अघिबढिरहेको, नेपाली व्यवसायीसँग सहकार्य हुनसक्ने बताउँदै बंगलादेश भ्रमणको लागि निम्तोसमेत गरेका छन् । छलफलमा केन्द्रीय सदस्य तथा मउवासंघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, कोषाध्यक्ष सन्तोषकुमार अर्याल, कार्यसमितिका सदस्यलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी बंगलादेश–नेपाल उवासंघका निर्देशक बंगलादेशी नागरिक मोहमद खैरुल बसर तथा बंगलादेशी व्यवसायीहरु मोहमद फारुकी, मोहमद हारुण रसिद र फाहिद अहमदको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*