करोड माग्दै भतिजाले हाने ठूलो बुवाको घरमा गोली, तीनजना पक्राउ

साझाकुरा
२०८० मंसिर २४, आईतवार १२:०३

हेटौंडा-भारतसँग सीमा जोडिएका तराईका जिल्लामा दिनदहाडै गोलीप्रहारका थुप्रै घटना भइरहेका छन् ।भारतसँगको खुल्ला सीमानाका कारण जोखिममा रहेका तराईका जिल्लामा गोलीप्रहारका घटनाले त्यहाँको मानवीय सुरक्षा जटिल रहेको छ । केही समयअघि मकवानपुरकै छिमेकी जिल्ला बारामा एक स्कूलका प्रधानाध्यापक माथि भारतीय सुटरले गोली हानेर हत्या गरेका थिए । त्यसअघि रौतहटमा गोलीप्रहारको घटना भएको थियो । विगतका घटनालाई नियाल्दा असुरक्षित रहेका तराईका जिल्लासँगै मकवानपुरमा पनि गोली प्रहारका घटना देखिन थालेका छन् ।

भारतीय सीमावर्ती बजार रक्सौलबाट नजिकै भएकाले लागूऔषध कारोबार र सेवनको दलदलमा फसेको सहर हो, हेटौंडा । हेटौंडामा दैनिक लागूऔषधका घटना भइरहेको प्रहरी तथ्यांकले नै देखाउँछ । लागूऔषध दुव्र्यसनकै असरले हेटौंडामा पहिलोपटक गोलीप्रहारको घटना पनि भएको छ । गोलीप्रहारको घटनाले कुनै मावनीय क्षति नभए पनि त्यसको जड दुव्र्यसनीसँग जोडिएको छ । विगतमा दुव्र्यसनमा फसेका एक युवकले आफ्नै ठूलोबुवाको घरमा पाँच राउण्ड गोली प्रहार गर्न लगाएर १ करोड रुपैयाँ फिरौती मागेका छन् ।

हेटौंडा उपमहानगरपालिका–९, स्थित बाक्लो बस्तीभित्र रहेको एक घरमाथि आफ्नै परिवारभित्रका भतिजाको योजनामा गोलीप्रहार भएको खुलेको हो । सूर्यप्रसाद पौडेलको घरमा १९ मंसिर रातको समयमा गोलीप्रहार भएको थियो । आफ्ना भतिजले ठूलोबुवाको घरमा एक करोड रुपैयाँ फिरौती माग्ने योजना बुन्दै पाँच राउण्ड गोली घरको भित्तामा प्रहार गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई प्रहरीले शनिवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

प्रहरीले गोलीप्रहार गरेको आरोपमा हेटौंडा–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री । सूर्यप्रसाद पक्राउ परेका निश्चल पौडेलका सहोदर ठूलोबुबा हुन् । घटनाको मुख्य योजनाकारको आरोपित पौडेलले छिमेकमा विवाहको मौका पारेर ठूलोबुवाको घरमा गोलीप्रहार गर्न लगाएको प्रहरीले जनाएको छ । एकै ठाउँका ३ जनाले एक करोड रुपैयाँ फिरौती माग्ने योजनाअनुसार घरको भित्तामा गोली चलाएको मकवानपुरका प्रहरी प्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले बताए । उनीहरुले चलाएको गोलीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

एक करोड रुपैयाँ माग्न तर्साउने हिसाबले गोली हानेको पाइएको छ । एसपी रिजालका अनुसार गोली हानेपछि सूर्यप्रसादलाई ‘एक खोका’ भन्दै हिन्दी भाषामा एक करोड रुपैयाँ फिरौती मागिएको थियो । ‘स्थानीयले सुरुमा विवाह भएकाले पटाका पड्काएको भन्ठानेको पाइयो । पछि पैसा मागेपछि अनुसन्धान गर्दै जाँदा घरमा गोली हानिएको भेटियो । घरमा सरसफाई गर्ने क्रममा गोलीको खोका भेटिएपछि प्रहरीलाई खबर आएको थियो ।’, एसपी रिजालले भने । ‘घरको भित्तामा पाँच गोली लागेको निशान छ । पहिला गोली हानेर पछि हिन्दी भाषामा पैसा मगिएको थियो ।’,

‘गोली हानेको संकेतमात्र हो, एक खोका पैसा भएन भने जे पनि हुन सक्छ भनेर आरोपितहरुले फोनबाट धम्की दिएका थिए ।’, एसपी रिजालले भने । अनुसन्धानमा आफैं खटिएका एसपी रिजालले आरोपितहरुले हेटौंडा बजारमा कोठा लिएको बताए । कोठामा छापामार्दा योजनाकार निश्चलको साथबाट स्वचालित पेस्तोलसहित २० थान गोली बरामद गरेको जानकारी दिएको छ । आरोपितहरुले हेटौंडा–४ मा कोठा लिएर लागूऔषधको समेतको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । भतिज निश्चल दुव्र्यसनीमा फसेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनास्थल वरपरको सीसी क्यामेराको फुटेजको आधारमा उनीहरुलाई पहिचान गरी हेटौंडा उपमहानगरपालिका–१० बाट तीनै जनालाई पक्राउ गरिएको थियो । आरोपित युवाहरु ठेक्कापट्टादेखि लागुऔषध कारोबारमा समेत संलग्न रहेको एसपी रिजालले बताए । प्रहरीले पहेंलो रंगको कपडाको आधारमा आरोपितलाई पक्राउ गर्न सफल भएको थियो । ‘कोठामा खानतलासी गर्दा गोलीप्रहार गर्ने बेलामा लगाएको पहेंलो कपडा भेटियो । यसकै आधारमा आरोपित निक्यौैल गर्न सहज भएको थियो ।’, रिजालले भने ।

प्रहरीले तीन आरोपितको साथबाट २ वटा मोटरसाइकल, २ ग्राम चारसय मिलिग्राम खैरो हिरोइन, लागूऔषध तौल गर्ने दुई थान तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागूऔषध कारोबार र हात हतियारसम्बन्धी मुद्दा चलाउने एसपी रिजालले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*