राक्सिराङका २० युवालाई सीपमूलक तालिम
हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँ पालिकाका युवा लक्षित सीपमूलक तालिम सुरु भएको छ । नारीसीप सृजनाकेन्द्र हेटौंडाको सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजनाअन्तरगत सिटिइभिटीको पाठ्यक्रममा आधारित ३९० घण्टा (६५ दिन) को ४ वटा विधामा २० जना युवालाई सीपमूलक तालिम दिन सुरु गरिएको हो ।केन्द्रको आयोजनामा हेटौंडा–४ मा रहेको हाम्रो प्रशिक्षण तालिम केन्द्रमा सहभागीलाई आवासीय सुविधा सहित तालिम प्रदान गर्न लागिएको हो ।
शुक्रबार एक कार्यक्रमबीच हाम्रो प्रशिक्षण तालिम केन्द्रमा तालिमको उद्घाटन गरिएको हो । केन्द्रले राक्सिराङका ७ वटा वडाका २० जना युवालाई आवासीय सुविधासहित कुक, मोवाइल मर्मत, सैलुन, अटो मोवाइल रिपेयरिङ तालिम दिने भएको हो । जस अनुसार अटो मोवाइल इन्जिनियरिङमा ४, कुकमा १२, मोवाइल मर्मतमा २ र सैलुनमा २ जना युवा सहभागी छन् ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जीविकोपार्जनका लागि युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सीप सिकेर आफ्नै ठाउँमा केही गर्नका लागि सहयोग पुग्ने बताए । राक्सिराङले वैदेशिक रोजगारीमा जाने युवालाई छुट्टै शाखा विस्तार गर्ने योजना बनाएको उनले बताए । युवाको सीप र वैदेशिक रोजगारमा गएकाहरुको तथ्यांक समावेश गर्ने तथा आवश्यकता अनुसार तालिम संचालन र अन्य समन्यात्मक काम गर्ने उनको भनाई छ ।
‘तालिम समयसापेक्ष तालिम छ । जीवन निर्वाह र आर्थिक संमृद्धिका लागि फलदायी छ । युवालाई लक्षित गरेर सीप सिकाउने र वेदेशिक रोजगारीमा जाने युवाको तथ्यांक राख्न छुट्टै शाखा गठन गर्ने गाउँपालिकाले तयारी गरेको छ ।’ अध्यक्ष मल्लले भने, ‘दुःखमा परेपछि मात्र पालिकालाई जानकारी हुन्छ । यो समस्या समाधानका लागि पालिकाले वैदेशिक रोजगारी तथा तालिम शाखा गठन गरेको हो ।पालिकाले सीप र वैदेशिक रोजगारीमा गएर समस्यामा परेका युवाको सहजताका लागि सम्बन्धित निकायसँग कानुनी समस्या फुकाउन छलफल भएको मल्लले बताएका छन् ।







