निःशुल्क स्वास्थ्यशिविरमा ५ सयजनाले लिए सेवा
हेटौंडा-रोटरी क्लब अफ मकवानपुरले निःशुल्क स्वास्थ्यशिविर संचालन गरेको छ । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयमा शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।रोटरी क्लब अफ मकवानपुरको अध्यक्ष अन्जनीकुमार पराजुलीको सभाअध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा– ६ का वडाअध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो । निको अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ६ जना स्वास्थ्यकर्मीको टिमले ५०० जना बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।
हेटौंडा उपमहानगरपालिका–६ को आर्थिक सहयोगमा भएको स्वास्थ्य शिविरमा रोट्रयाक्ट क्लब अफ मकवानपुर र सिटिजन बैंकको सहयोग रहेको थियो ।जसमा सामान्य चिकित्सा, नाक, कान, घाँटी, जनरल सर्जरी, नसा तथा हाडजोर्नी, दाँतसम्बन्धी रोगको साथै मधुमेहको निःशुल्क रक्तपरीक्षण गरिएको पराजुलीले जानकारी दिए । परीक्षणको क्रममा स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई निको अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाअध्यक्ष दाहालले रोटरीसँग सहकार्य गरी वडावासीलाइ स्वास्थ्यसेवा दिन पाएकोमा खुसी व्यक्त गर्दै रोटरी क्लबलाई धन्यवाद दिएका थिए ।
मुख्यगरी शिक्षा, स्वास्थ्य र खानेपानी रोटरी क्लबको कार्यआयोजना अन्तर्गत अग्रस्थानमा रहेको र क्लबको वार्षिक कार्ययोजना अनुसार स्वास्थ्य कार्यक्रम लगायत विभिन्न सामाजिक काम गर्ने गरी वार्षिक योजनाका रुपमा काम गर्दै आएको क्लबका अध्यक्ष पराजुलीले बताए ।कार्यक्रममा वंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, वडाप्रहरी, १३ वटा टोलविकास समितिका प्रतिनिधिहरु, वडासचिव आमोदप्रसाद मैनाली, रोटरी क्लब र रोट्रयाक्ट क्लबका पूर्वअध्यक्ष, सदस्यलगायतको उपस्थिति थियो ।







