वंशगोपाल सहकारीले मनायो १५ औं साधारणसभा
हेटौंडा- हेटौंडा–१८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १५ औं वार्षिक साधारणसभा सम्पन्नगरेको छ ।साधरणसभाको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य बिष्णुमाया थपलिया र जेष्ठ सदस्य रत्नबहादुर दुरैलीले संयुक्त रुपमा गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थपलियाले यस सहकारी हालसम्म पारदर्शितामा चलिरहेकाले ढुक्क भएर बचत तथा ऋणकारोबार गर्न सहज भएको बताइन् । उनले आगामी दिनमा यसैगरीकारोबारलाई निरन्तरता दिन पनि सुझाब दिइन् । कार्यक्रममा अध्यक्ष अरुणकुमार खतिवडाले अध्यक्षको प्रतिबेदन प्रस्तुत गरे ।
अध्यक्ष खतिवडाले आगामी दिनमा सहकारी वित्तीय कार्यक्रमलाई जोड दिदै सदस्यहरुको ऐच्छिक बचत मजबुत पारिने र दैनिक बचतलाई बिस्तार गर्दै लगिने योजना रहेको सुनाए । यसैगरी सहकारीका कोषाध्यक्ष इमानबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुतगरे । सहकारीले आर्थिक बर्ष २०७९÷८० मा ८२ लाख ३९ हजार ३८९ रुपैयाँ नाफा भएको जानकारी दिए । सहकारीको कुल शेयर रकम ५१ लाख ९९ हजार ६००, कुल बचत रकम ५ करोड ९७ लाख ४६ हजार ९६०, कुल कर्जा लगानी ५ करोड ८३ लाख ९ हजार ५०४ र कुल मौज्दात १ करोड ७७ लाख ९ हजार ८०५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सचिव बरुणकुमार खतिवडाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले गरेका गतिविधिबारे प्रस्ट्याए । यस आर्थिक बर्षमा ४१ जना सदस्य वृद्धि भई कुल १ हजार ८६ जना शेयर सदस्य कायम भएको, ४ जना सेयर सदस्यका परिवारलाई मृतकराहतकोष वितरण, १६ जना सदस्यलाई सुत्केरी स्याहार खर्च वितरणगरिएको सचिव खतिवडाले जानकारी दिए । सहकारीले आ.व. २०८०÷८१ का लागि नयाँ कार्यक्रम थप्दै र पुराना कार्यक्रमलाईनिरन्तरता दिने जनाइएको छ ।
प्रत्येक सेयर सदस्यको सेयर १५ हजार रुपैयाँ पु¥याउने र ऋण लिँदा प्रति दुई हजारमा एक कित्ता सेयर अनिवार्य थप गर्दै लैजाने जनाएको छ । सेयर सदस्य संख्या १४ सय पु¥याउने सहकारीको लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक मन्दीलाई ध्यानमा राख्दै सेयर बचत अनुपात अनुसार कर्जा प्रवाह ८ लाख रुपैयाँसम्म गरिने जानकारी दिइएको छ । सहकारीले नयाँ सेयर सदस्यका लागि दुई हजार रुपैयाँमै सदस्य बन्न सकिने प्रस्ताव गरेको छ । जसमा १० कित्ता सेयर खरिद गर्दा एक हजार, प्रवेश शुल्क एक सय, राहत कोष पाँच सय र मासिक बचत चार सय गरेर कुल दुई हजार रुपैयाँमा नयाँ सेयर सदस्य बन्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा ऋण उपसमितिका संयोजक माधवनारायण तुलाधरले ऋण उपसमितिको प्रतिवेदन र लेखा समिति संयोजक कपिलप्रसाद पराजुलीले आन्तरिक लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे । साधारणसभाकाअवसरमा उत्कृष्ट बचतकर्तातर्फ बुद्धिबहादुर आले र असल ऋणीतर्फ संगीता पौडेललाई सम्मान गरिएको थियो । सामुदायिक विद्यालयतर्फ जिपिए ३.६५ अंक ल्याउने ज्योति माविकी छात्रा पवित्रा तिमल्सिना र संस्थागत विद्यालयतर्फ ३.९० अंक ल्याउने तासिर बोर्डिङ स्कुलका मणिराज बराललाई सम्मानगरिएको थियो ।
कार्यक्रममा ज्योति माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष एबम् हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, ज्योति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडा, सहकारीका सल्लाहकार केशब पण्डित, सेयर सदस्यका तर्फबाट तुलसी गिरीलगायतले आफ्नो भनाइ राखेका थिए ।







