एकवर्षे एनेस्थेसिया सहायक कोर्ष सुरु

साझाकुरा
२०८० मंसिर २५, सोमबार १०:१८

हेटौंडा, २४ मंसिर÷ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले एकवर्षे एनेस्थेसिया सहायक कोर्ष प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । आइतबार एक कार्यक्रमकाबीच कार्यक्रमको सुरुवात गरिएको हो ।स्वास्थ्य निर्देशनालयका निर्देशक सागरप्रसाद घिमिरेको अध्यक्षता तथा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपकप्रसाद तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रमबारे प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सुरेन्द्र शेरचनले जानकारीगराएका थिए । उनले स्वास्थ्य क्षेत्रमा सर्जिकल सेवा विस्तार गर्न यस कार्यक्रमको सुरुवात गरिएको बताए ।

पछिल्लो समय स्वास्थ्य क्षेत्रको विस्तार जिल्ला हुँदै स्थानीय तहसम्म पुगेकाले सर्जिकल डाक्टर तथा प्राविधिकको जनशक्ति अभावले हामीले पहिलोपटक एनेस्थेसिया सहायक कोर्ष सञ्चालन गरेको बताए । केन्द्रमा मात्र सीमित रहेको यस कार्यक्रम अब प्रदेशस्तरमा पनि सञ्चालन हुनुपर्छ र दक्षजनशक्ति उत्पादन गरी सेवा प्रवाहलाई विस्तार र प्रभावकारी बनाउनुपर्ने प्रा.डा शेरचनको भनाइ छ । पहिलो व्याचमा तीनजना रहेका छन्, पाँच जनाको आवेदन परेकोमा तीनजना छनोट भएको हो, प्रा.डा शेरचनले भने । तालिमपश्चात तीनै जनालाई प्रदेश अन्तरगतको स्वास्थ्य क्षेत्रमा खटाइने जनाइएको छ ।

कार्यक्रममा स्वास्थ्य सचिव तिवारीले कठिनाईको बावजुत पनि एनेस्थेसिया सहायक कोर्ष प्रशिक्षक कार्यक्रम सुरुवात गरिएको बताए । यसलाई दीगो रुपमा काम गर्ने गरी प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तालिमपछि सामूहिक रुपमा काम गर्ने तालिमपश्चात मन्त्रालयले दिने अधिकारलाई मान्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेका थिए ।

स्वास्थ्य निर्देशक घिमिरेले कार्यक्रमले सर्जिकल उपचार क्षेत्रको विकास गर्न सहजता प्रदान गर्ने बताए । कार्यक्रम आगामी दिनहरुमा पनि निरन्तरता दिनुको साथै पहिलो व्याच हुनुको अवसर र चुनौति दुबै रहेको बताएका छन् । उनले प्रशिक्षार्थीलाई जिम्मेवारी बोध जनाउँदै अध्ययन गर्न आग्रह समेत गरेका थिए ।

यस कोर्षका लागि मकवानपुरका सुरेश मोक्तान, धादिङका मेरी तामाङ र रौतहटका सन्तोषकुमार माझी छनोट भएका छन् । एचए वा नर्सिङ पास गरेकाले यो कोर्ष गर्न पाउने प्रावधान रहेको शिक्षाध्यक्ष डा. शेरचनले बताए । कार्यक्रममा प्रतिष्ठानका डीन डा. दुर्गाकुमारी खड्का, हेटौंडा अस्पतालका निमित्त मेसु डा. रामचन्द्र सापकोटा, प्रतिष्ठान सदस्य उत्सव चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*