बागमतीमा मानवअधिकार उल्लघंनका ६६ उजुरी
हेटौंडा-मानवअधिकार आयोग बागमती प्रदेशको कार्यालय हेटौंडामा गत आर्थिक वर्ष २०७९÷८० भित्र ६६ वटा मानवअधिकार उल्लघंनका घटनाको उजुरी परेको छ ।आयोगको कार्यालयमा आव २०७९÷८० को साउनदेखि असार मसान्तसम्म काठमाडौंबाट ४४ वटा उजुरी दर्ता भएको थियो । मकवानपुरबाट ६ वटा, ललितपुर, सिन्धुली, काभ्रे र चितवनबाट २÷२ वटा, भक्तपुर र सिन्धुपाल्चोकबाट ३÷३ वटा, दोलखा रामेछापबाट १÷१ वटा गरी ६६ वटा उजुरीहरु दर्ता भएको कार्यालयकी निमित्त प्रमुख रेवा रेग्मीले जानकारी दिएकी छन् ।
आइतबार हेटौंडामा भएको ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा निमित्त प्रमुख रेग्मीले प्रदेशभित्र मानवअधिकार उल्लघंनको अवस्थाबारे जानकारी गराएकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उच्चअदालत पाटन हेटौंडा इजालसकी न्यायाधीश यमुना भट्टराईले मानवअधिकारका अवधारणालाई आत्मसाथ गर्दै काम गर्नुपर्ने बताइन् । पछिल्लो समय मानवअधिकार उल्लघंनका घटना वृद्धि भइरहेको अवस्थालाई औल्याउँदै उनले मानव अधिकारको अवधारणालाई लागू गर्न न्यायपालिकाले भूमिका खेलेको बताइन् ।
समाजमा लैंगिकविभेद तथा छुवाछुतविभेदका घटनाहरु देखापरिरहेको भन्दै विभेदविरुद्ध न्यायपालिकाले भूमिका खेलेको उनको भनाई छ । कार्यक्रममा प्रदेश सांसद प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, सामाजिक विकास मन्त्रालयका सचिव डा. भिष्मकुमार भुषाल, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, ईन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, अधिकारकर्मी कमल विश्वकर्मालगायते जिल्ला स्थित विभिन्न सरकारी र सामाजिक संघसंस्थाका प्रमुखको आतिथ्यता रहेको थियो ।







