थाहा महोत्सवमा उत्कृष्ट भएका कृषक पुरस्कृत
हेटौंडा-थाहा नगरपालिकामा जारी चौँथो थाहा महोत्सवको अवसरमा आयोजित कृषि मेला प्रदर्शनीबाट उत्कष्ट ठहरिएका कृषकलाई पुरस्कार प्रदान गरिएको छ । सोमबार थाहा नगरपालिका कार्यालयमा नगर प्रमुख विष्णुबहादुर विष्टले उत्कृष्ट कृषकहरुलाई नगर पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् । उत्कृष्ट कृषकहरुले पुरस्कारको राशी क्रमशः २ हजार, १ हजार ४ सय र १ हजार रुपैयाँ पाएका छन् ।
थाहा नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि विष्ट, थाहा नगरपालिकाको प्रशासन महाशाखा प्रमुख नवीन खालिङ राई, कृषि शाखा प्रमुुख सञ्जय तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सवबाट काउली तथा जरे तरकारी बालीतर्फको प्रतिस्पर्धामा प्रथम सुमित्रा घलान, द्वितीय राजकुमार घिसिङ र तृतीय अनिता सिन्तान भएका छन् । यसैगरी, फलफूल समूहको तरकारी बालीतर्फ प्रथम साननानी ढकाल, द्वितीय थाहा सिङ, तृतीय कुमार कार्की, कन्दमूल बालीतर्फको स्पर्धामा प्रथम कृष्ण कार्की, द्वितीय देउती माया आले, तृतीय डोलकुमारी ढकाल, फलफूल बालीतर्फ प्रथम भक्तबहादुर आले मगर, द्वितीय क्षेत्रबहादुर आले र तृतीय मजिरमान महर्जन भएका छन् ।
आलु बीउतर्फ प्रथम भवानी घमाल, द्वितीय रेशमबहादुर विष्ट, तृतीय सानोभाई खडका, अन्न बालीतर्फको प्रतिस्पर्धामा प्रथम शिवराम कार्की, द्वितीय पार्वती ढकाल र तृतीय रिता कुमारी थापा, अन्यमा प्रथम कफी उत्पादक किसान दुर्गाबहादुर आले मगर, द्वितीय बाराही मौरी घर र तृतीय भक्तबहादुर आले मगर पुरस्कृत भएका हुन् ।







