पालुङलाई २० वर्षपछि पदाधिकारी दिलाउने होडमा कार्की
हेटौंडा- लुम्बिनी प्रदेशको बुटवलमा आगामी २८ मंसिरदेखि पुस २ सम्म नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन हुँदैछ । जेसीजकर्मीहरुलाई महाधिवेशनको चटारो लागिसकेको छ ।महाधिवेशनका लागि जेसीजकर्मीहरुले उम्मेदवारी दर्ता गरेर तालिमका लागि जुटेका छन् । उम्मेदवारी दिनेमा एक मकवानपुरका युवा पनि छन् । पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्की नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार रहेका हुन् । पालुङ जेसीजको तर्फबाट वर्ष २००३ मा राष्ट्रिय उपाध्यक्ष पदमा पुरुषोत्तम कार्की भएदेखि हालसम्म पालुङले पदाधिकारी पाउन सकेको थिएन ।
कार्की बुटवलमा हुने महाधिवेशनमा निर्वाचित भए पालुङ जेसीजले २० वर्षपछि राष्ट्रिय पदाधिकारी प्राप्त गर्नेछ । पालुङको साख फर्काउने अभियानमा कार्की होमिएका छन् । उम्मेदवार दर्तापछि आफ्नो धारणा राख्दै कार्कीले जेसीज युवा उद्यमशीलताको लागि एक विश्वविद्यालय भएको बताए । उनले विधिको शासनमा विश्वास गर्ने युवाबीच अनुभव आदानप्रदान सहित क्षमताको विकासमा क्रियाशील जेसीज युवालाई सामाजिक विकासमा समेत सक्रिय गराउने संस्था भएको दाबी गरे ।
मंगलबार बुटवलमा भएको उम्मेद्वार तालिममा सहभागिता जनाउने क्रममा मकवानपुरका कार्कीले जेसीजको आस्था र गरिमालाई उच्च राखेर नेपाल जेसीज र स्थानीय शाखाबीचको सम्वन्धलाई सुमधुर बनाउन आफू प्रतिबद्ध भएको बताए । उनले विभिन्न तालिमको आयोजना गरी युवाको व्यक्तित्व विकासका साथै नेतृत्व क्षमताको विकास र युवा सक्रियतालाई अगाडि बढाउन नेपाल जेसीज क्रियाशील रहेको अवस्थामा २० वर्षपछि पालुङ जेसीजलाई राष्ट्रिय पदाधिकारी प्राप्त गराउन आफ्नो राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी रहेको बताएका छन् ।
थाहा नगरपालिका–३ मा २०४२ सालमा जन्मेका कार्कीले अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण छन् । सामाजिक कार्यमा सक्रिय कार्की नेपाल रेडक्रस सोसाईटी दामन उपशाखा कार्यसमिति सदस्य, हिमालयण ईङ्लिस सेकेन्डरी स्कुलका संयोजक, न्यु भिजन एकेडेमीका संस्थापक, जनकल्याण माविको मानविकी संकाय संयोजक छन् । कार्की जमर्को समूह थाहा नगरपालिकाको अध्यक्ष, एन्टिक नेपाल प्रालिका प्रवन्धक, जनशक्ति कृषक सहकारी संस्था लिमिटेडका लेखा सुपरीवेक्षण समितिका सदस्य, उच्च माध्यमिक शिक्षक संगठनका थाहानगर अध्यक्ष, प्याव्सन थाहानगरका सचिवको जिम्मेवारीमा छन् ।







