मकवानपुरमा मध्यवर्ती क्षेत्रको नयाँ सीमांकन गराउन पहल

साझाकुरा
२०८० मंसिर २८, बिहीबार १०:३३

हेटौंडा- हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिकाको विभिन्न भू–भागमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई नयाँ सीमांकन गराउन पहल थालिएको छ ।जनता समाजवादी पार्टी (जसपा) मकवानपुरले जिल्लामा मध्यवर्ती क्षेत्रको नयाँ सीमांकनका लागि वन मन्त्रालय, भूमिसुधार मन्त्रालयमा गएर पहल सुरु गरेको हो । जसपा मकवानपुरका सचिव दीपक सिन्तानले वन ऐन, निकुन्ज ऐन र भूमिसम्बन्धी ऐन बाझिएकाले मध्यवर्ती क्षेत्रको जग्गा नापी हुन नसकेको जानकारी गराउँदै मध्वर्ती क्षेत्रको नयाँ सीमांकन अपरिहार्य रहेको बारे ज्ञापनपत्र बुझाइएको बताए । जसपा मकवानपुरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वनमन्त्री, भूमिमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

मध्यवर्ती क्षेत्रबाट विकसित समस्या समाधानको आश्वासन पाएको सचिव सिन्तानले बताए । हेटौंडा र मनहरीको विभिन्न भूभागमा पर्ने मध्यवर्ती क्षेत्र स्थानीयको टाउको दुखाइको विषय बनेको छ । स्थानीयले मध्यवर्ती क्षेत्र भएकै कारण आफूले भोगचलन गरेको जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । मध्यवर्ती क्षेत्रमा पर्ने जग्गा नापी हुन नसकेर उनीहरुले पुर्जा पाउन नसकेका हुन् । उता जंगली जनावरको पनि त्राश छ । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावरले कतिपयको ज्यान लिनुका साथै जनधनको क्षति पु¥याइरहेको छ ।

मध्यवर्ती क्षेत्रको ऐन संशोधन नगरेसम्म समस्या समाधान नहुने भन्दै सिन्तानले ऐन संशोधन कुनै एउटा मन्त्रालयले चाहेर मात्र नहुने बताए । भेटका क्रममा प्रधानमन्त्री, मन्त्रीहरुले ऐन संशोधन गर्ने र यसका लागि प्रक्रियासुरु गरिहाल्ने विश्वास दिलाएको बताए । मध्यवर्ती क्षेत्रलाईनयाँ सीमांकन नगरेसम्म समस्या समाधान नहुने सचिव सिन्तानले बताए । नयाँ सीमांकन गरेर सीमाना सार्नैपर्ने भएकाले यस विषयमा जसपाले पहल सुरु गरेको र यसको टुंगो लगाएरै छाड्ने सिन्तानको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*