रोटरी क्लबको निःशुल्क आँखा शिविर
हेटौंडा- हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा रोटरी क्लब अफ हेटौंडा र रोट्रयाक्ट क्लब अफ हेटौंडाले बकैया गाउँपालिकामा निःशुल्क आँखा शिविर गरेको छ ।बुधबार बकैया गाउँपालिका–७, स्थित भीरकोटमा र रौतहटको फतुवा विजयपुर नगरपालिका–६, पेटभरुवामा क्लबले आँखा शिविर गरेको हो । बकैया र रौतहटको पेटभरुवामा गरेर ४ सय ७२ जनाको आँखा परीक्षण गरिएको हो ।
बकैयामा २ सय २१ जना बिरामीको आँखा परीक्षण गर्दा २२ जनाको आँखा शल्यक्रिया गर्नुपर्ने देखिएको छ । रौतहटमा २ सय ५१ जनाको परीक्षा गरिँदा १ सय ९ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको रोटरी क्लब अफ हेटाडौंका सचिव किशोर पराजुलीले जानकारी दिए ।रोटरी क्लब अफ हेटौंडाले वर्षको दुईपटक आयोजना गर्ने गरेको निःशुल्क आँखा शिविर यस वर्ष मंसिर २७ गतेदेखि पौष २ गतेसम्म मकवानपुर, चितवन, रौतहट र बारा जिल्लाका ६ वटा स्थानमा गरिरहेको छ । भोलि मंसिर २८ गते मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा आँखा परीक्षण सिविर हुनेछ ।
मंसिर ३० गतेसम्म आँखा शिविर र पौष १ र २ गते हेटौंडा सामुदायिक अस्पतालमा बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिने कार्यक्रम रहेको सचिव पराजुलीले बताए । क्लबको नियमित कार्यक्रमको रुपमा रहेको आँखा शिविरको लागि तास्मानिया, अस्ट्रेलियाका रोटरी क्लबहरुबाट सहयोग प्राप्त छ ।







