मनहरीमा हात्ती आतंक
हेटौंडा- चितवन राष्ट्रिय निकुञ्जको बाघले मकवानपुरको मनहरीमा दुईजनाको ज्यान लिएको पीडादायी घटना सेलाउन नपाउँदै फेरि हात्तीको आतंक सुरु भएको छ ।विगत दुई सातादेखि मनहरी गाउँपालिका वडा नं.६,७,८ र ९ क्षेत्रमा निकुञ्जबाट आएको यमगज नामक जंगली हात्तीले वितण्डा मच्चाइरहेको स्थानीयले बताएका छन् । हात्तीले स्थानीयको बासस्थान (घर) भत्काउने र खेतबारीमा लगाएका अन्तपात तथा घरमै भण्डारण गरी राखेको धानमकै क्षति पु¥याएको छ । हात्तीको आक्रमणबाट ज्यान जाने डरले रातको समयमा स्थानीयबासी ढुक्क भएर सुत्न समेत पाएका छैनन् ।
गएको सोमबार मनहरी गाउँपालिका–८ चिसापानीमा राती १० बजे स्थानीय जमुनाकुमारी अधिकारीको घरमा हात्तीले आक्रमण गरेको थियो । काठको बार, टिनले छाएको दुईकोठे घरमा क्षति पुगेको छ । त्यतिबेला हात्तीलाई स्थानीयको सहयोगमा प्रहरीले जंगलतर्फ लखेटे । तर, त्यसको भोलिपल्टै राती मनहरीकै वडा नं.७ रमौलीमा स्थानीय चेपाङसिंह तामाङको घरमा हात्तीले तामाङको भान्सा र घर भत्काएर घरमा रहेको ४ बोरा धान पनि खाईदियो । हात्तीको आक्रमणबाट ज्यान जोगाउन भाग्ने क्रममा चेपाङसिंहका श्रीमती र छोरा सामान्य घाइते हुन पुगेका छन् ।
‘हात्तीले पहिला भान्सा भत्कायो, त्यसपछि घर, चोटामा राखेको चारबोरा धान खेतमा लगेर खाईदियो,’ तामाङले थपे, ‘त्यो धान सकेपछि फेरि घरमा आयो, ज्यान जोगाउन भाग्दा छोराको हात र श्रीमतीको खुट्टामा चोट बोक्न
पुगे ।’ निकुञ्जबाट मानव स्तीमा आहाराका खोजिमा पसेका हात्तीले खेतबारीमा अन्नपात नभेटेपछि घरमा आक्रमण गरेको अनुमान छ । चितवन राष्ट्रिय निकुञ्ज र जनप्रतिनिधिसहितको टोली क्षतिको बिवरण संकलन गरिसकेको बताइएको छ । गतवर्ष हात्तीकै आक्रमणमा परी मकवानपुरमा दुईजनाको ज्यान गएको थियो ।







