‘जलवायु परिवर्तन रोक्न वातावरणमैत्री व्यवहार जरुरी’
हेटौंडा- जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले नकारात्मक रुपमा बढेको जलवायु परिवर्तन नियन्त्रण गर्न वातावरणमैत्री व्यवहार गर्नुपर्ने बताएका छन् । जलवायु परिवर्तनले सबैपक्षमा समस्या भएकोले नेतृत्वलाई दोष दिनुभन्दा सबैले आआफ्नो तहबाट वातावरणमैत्री कार्य गर्नुपर्ने बताइएको हो । आगामी भविष्यको लागि दीर्घकालीन सोचाइ राखेर बिषादिको प्रयोग कम गर्दै प्रकृतिमैत्री कृषिकर्म गर्न उनले आग्रह गरे । जलवायु परिवर्तनसम्बन्धी नीतिगत सवाल मुद्दा चुनौती र आगामी संभावनाबारे हेटौंडामा आयोजित अन्तरसंवादमा उनले यस्तो बताएका हुन् । पर्यावरणलाई असर पुग्ने काम रोक्दै, कस्मेटिक उत्पादनमा ध्यान कम गर्नुपर्ने उनले बताए ।
स्थानीय तहले बजेट बनाउँदा, नीति तथा कार्यक्रम बनाउँदा गैसससँग समन्वय गर्नुपर्ने उनको धारणा थियो । जिल्ला समन्वय समितिले आगामी दिनमा नीतिगत योजनाहरु बनाउँदा आफ्नो तर्फबाट समन्वय र पहलमा ध्यान दिने उनले बताए । कार्यक्रममा मनहरी गाउँपालिका–३ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक अनन्तप्रकाश अर्यालले किसानलाई क्षतिको व्यवस्थापन गर्ने योजनाले बजेटको व्यवस्थापन गरिएको, सुधारिएको चुल्हो, बृक्षरोपण जस्ता कार्यक्रम राखिएको बताए ।
कार्यक्रममा अभियन्ता निर्मल चेवाङले कार्यपत्र प्रस्तुतगरेका थिए । बाली लगाउँदा, पशुपालन गर्दा पनि जलवायु परिवर्तनबारे सोच्नुपर्ने, पृथ्वीको तापक्रममा उतारचढावले मानवीय जीवनशैलीमा चुनौती थपेकोले यसले बित्तीय र प्राबिधिक क्षमताको रुपमा पनि प्रभाव पार्ने उनले कार्यपत्रमा प्रस्तुत गरेका थिए । वार्षिक योजना तर्जुमा यसबारे संबेदनशीलता आवश्यक भएको उनले बताए ।सामाजिकरुपमा पछाडि परेको समुदायलाई झन् समस्या भएको भन्दै उनीहरुको जीवनस्तर उकास्न पनि यो चुनौतीबारे ध्यान दिनुपर्ने बताए । ‘परम्परागत कृषिको सम्भावना घट्यो, भौगोलिक जोखिम बढ्यो, स्थानीय सरकारले के गर्ने अब ? नीतिगत अभ्यास के भए, मुलप्रवाहमा के कस्ता नीति कार्यान्वयन भए वा भएनन् ? समुदायको अनुकूलन कसरी बढाउने, स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ ? पन्चबर्षीय योजनाले के भनेको छ ? स्थानीय अनुकुलन कार्ययोजना २०७६ ले के व्यवस्था गरेको छ ? जस्ता सवालमा ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबाले यो विषय मानवअधिकारको सवाल भएको बताइन् । सेलर्डका अधिवक्ता जगन्नाथ सुबेदीले माटो बचाउको सवाललाई विशेष ध्यान दिनुपर्ने बताए । यसैगरी माइती नेपाल मकवानपुर प्रमुख माया लामा, सामाजिक अभियन्ता दीपेन्द्र पाठक, मनहरी गाउँपालिका सामाजिक विकास शाखाप्रमुख ज्ञानेन्द्र ढकालले जलवायु परिवर्तनबारे सवाल उठाएका थिए । कार्यक्रममा मकवानपुर मनहरी–३ कि किसान सुशीला उपाध्यायले जनवायु परिवर्तनको कारण बाली उत्पादनमा समस्या भोगेको बताइन् । ‘धान, मकै फलेन र कागती लगाएँ तर, कागती पनि फलेन’ उनले भनिनन् । यसैगरी हेटौंडा १० को वडाअध्यक्ष तथा हेउमनपा वन तथा वातावरण समिति संयोजक फुर्वादोर्जे लामाले जलवायु परिवर्तनको जिम्मेवारी नेतृत्व वा जनप्रतिनिधिलाई मात्रै थोपर्न नहुने, स्थानीय क्षेत्रका सबैले आत्मासात गर्नुपर्ने बताए ।







