बज्रवाराही खानेपानीको साधारणसभा
हेटौंडा- मकवानपुर थाहा नगरपालिका–६ मा रहेको बज्रवाराही वृहत खानेपानी तथा सरसफाई आयोजनाको प्रथम साधारणसभा भएको छ । थाहा नगरपालिका–६ को कार्यालय परिसरमा साधारणसभा भएको हो ।थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरजकुमार भुजेलको प्रमुख आतिथ्यतामा भएको सभा ६ नम्बरका पूर्ववडाध्यक्ष तथा खानेपानी बोर्डका संस्थापक सदस्य शशीधर सुवेदीको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि भुजेलले नगरका सबै खानेपानी आयोजनालाई एकीकृत रुपमा बोर्डमार्फत व्यवस्थापन गर्न नीतिगत रुपमै प्रक्रिया अघि बढाइएको बताए । उनले नगरबासीलाई सर्वसुलभ र स्वच्छ खानेपानी वितरणका लागि बोर्डले काम गर्ने सुनाए ।
कार्यक्रमका विशेष अतिथि सुवेदीले वडाबासीले निकै दुःखका साथ निर्माण सम्पन्न भएको योजना स्थानीयकै सम्पत्ती भएको बताए । सुवेदीले खानेपानी आयोजनाको दीगो व्यवस्थापनका लागि स्थानीय सरकार जिम्मेवार हुनैपर्ने उल्लेख गरे । अहिलेसम्म उपभोक्ताले व्यवस्थापन गर्दै आएको योजनालाई थप व्यवस्थित गर्न नगरपालिकाकै संरचनाको रुपमा रहेको खानेपानी व्यवस्थापन बोर्डलाई जिम्मेवार बनाइ सहज र स्वच्छ खानेपानी विरणको व्यवस्था मिलाउन आग्रह गरे । सानोतिनो मर्मत सुधारका काम उपभोक्ताले गर्दै आएको बताउँदै सुवेदीले भने–‘आयोजनामा ठूलो क्षति हुनपुगे नागरिकलाई पानी खुवाउने दायित्व नगरकै हुन्छ, त्यसैले खानेपानीको दीगो व्यवस्थापनतर्फ नगरपालिकाले ध्यान दिनैपर्छ ।’
बज्रवाराही वृहत खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष चित्रबहादुर बलामीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुविनभक्त श्रेष्ठले सञ्चालन गरेका थिए । सभाले अध्यक्ष बलामीको प्रगती प्रतिवेदन, कोषाध्यक्षको आम्दानी खर्चको प्रतिवेदन पास गरेको छ । सभाले पुनः चित्रबहादुर बलामीको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको छ । समितिको सचिव सविनभक्त श्रेष्ठ, कोषाध्यक्ष जानकी श्रेष्ठ, सदस्यहरु सूर्यबहादुर श्रेष्ठ, भरत गोपाली, रमिता बलामी, सुभद्रा महर्जन, नकुल बलामी, सोनु श्रेष्ठ लगायत चयन भएका छन् ।







