मनहरीमा गार्मेन्ट उद्योग सञ्चालन

साझाकुरा
२०८० पुष ३, मंगलवार १२:३८

हेटौंडा-मनहरी गाउँपालिका–९, ज्यामिरेस्थित प्रणामी टोलमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गार्मेन्ट उद्योग खुलेको हो ।सियो धागो सिलाई श्रम सहकारी संस्थाद्वारा सञ्चालनमा आएको गार्मेन्टको लागत ६० लाख रुपैयाँ रहेको संस्थाका अध्यक्ष भुवनकुमार गौतमले जानकारी दिए । मनहरी गाउँपालिकाबाट (६०–४०) अन्तर्गतको कार्यक्रमबाट १० लाख रुपैयाँ सहयोग प्राप्त गरेको संस्थाले २० लाख रुपैयाँ बराबरको भवन, २० लाख रुपैयाँ बराबरको मेसिन र १० लाख रुपैयाँ बराबरको अन्य व्यवस्थापन गरी ६० लाख बराबरको लगानीमा उत्पादन कार्य थालनी गरिएको संस्था अध्यक्ष गौतमले बताएका छन् । पहिलो चरणमा ग्रार्मेन्टमा ३० जनालाई प्रत्यक्ष रोजगार दिन सकिने जनाइएको छ ।

गार्मेन्टबाट महिलाले सीपको सदुपयोग गर्ने, रोजगार प्राप्त पनि गरेका छन् । गार्मेन्ट उद्योग बनेको चार कठ्ठा क्षेत्रफल २० वर्षसम्मको लागि भाडामा लिइएको छ । अध्यक्ष गौतमले सीप सिक्न र सिकेका सीपको सही सदुपयोग गर्न सबैलाई आग्रह गरे । गार्मेन्टबाट उत्पादित कपडा मनहरी–५ र ९ नम्बर वडाको सरकारी स्कुलले प्रयोग गर्ने गरी सहकार्य अगाडि बढेको भन्दै उत्पादित तयारी पोशाकको गुणस्तरमा कुनै कसुर नराखिने अध्यक्ष गौतमले बताए । गार्मेन्टबाट सरकारी कार्यालय, विद्यालय, क्याम्पसका लागि आवश्यक कपडा, ज्याकेट, झोलालगायत अन्य तयारी पोशाक उत्पादन गरिने लक्ष्य छ ।

उद्योगको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जनताको आवश्यकता अनुसार बजेट बनाई गार्मेन्ट उद्योग सञ्चालन गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*