वडामै पुगेर योजना सम्झौता गर्दै राक्सिराङ

साझाकुरा
२०८० पुष ३, मंगलवार १२:४५

हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले उपभोक्ता समिति मार्फत् गरिने योजना कार्यान्वयनलाई व्यवस्थित र झन्झटरहित बनाएको छ । उपभोक्तामार्फत् हुने कामलाई झन्झटरहित बनाउन स्पष्ट कार्ययोजना र कार्यढाँचा तयार गरेको गाउँपालिकाले वडा कार्यालयमार्फत् नै योजना सम्झौताको सेवा दिएको छ ।शुक्रबार गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीको टोलीले ३ नम्बर वडामा पुगी उपभोक्ता मार्फत् हुने कामको सम्झौता गरेको हो ।

योजना कार्यान्वयनको लागि उपभोक्ता समितिलाई पटकपटक गाउँपालिका कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि वडामै पुगी आवश्यक कागजात बनाएर योजना सम्झौता गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । ३ नम्बर वडामा कार्यान्वयन गरिने करिब एकदर्जन योजनाको सम्झौता शुक्रबार वडा कार्यालय पलासेँमा गरिएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ नम्बर वडामा ३४ वटा योजनामा बजेट विनियोजन गरेकोमा केहीको यसअघि नै सम्झौता भई कार्यान्वयनमा गइसकेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले शुक्रबार सम्झौता हुन बाँकी रहेका योजनाको सम्झौता पनि केही दिनमै गरिने बताए । अन्य वडाबाट कार्यान्वयन हुने योजनाको पनि धमाधम सम्झौता भइरहेको बताउँदै आफूहरु योजना सम्झौताको अन्तिम चरणमा रहेको गर्तौलाले जानकारी दिए ।राक्सिराङले गाउँपालिका तह र वडा तहमार्फत् उपभोक्ता समितिबाट गर्ने योजनाको वर्गीकरण गरेको छ भने ठेक्कामार्फत् गर्ने योजनाको पनि वर्गीकरण गर्दै योजना कार्यान्वयनको कार्ययोजना यसअघि नै बनाइसकेको छ ।

स्वीकृत कार्ययोजनाअनुसार राक्सिराङले मंसिर मसान्तसम्ममा सबै योजनाहरुको सम्झौता गरिसक्ने लक्ष्य राखेको थियो । साथै ४५ लाखसम्मका योजना उपभोक्तामार्फत् र सोभन्दा माथिका योजनाको ठेक्का प्रक्रियाबाट काम गर्ने जनाएको छ । ८ लाखसम्मको योजना भने वडा कार्यालयबाटै सम्झौता र कार्यान्वयन गर्नेगरी यसअघि नै कार्ययोजना स्वीकृत भइसकेको प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताए । चैत मसान्तभित्र गाउँपालिकाको सबै योजनाहरु सम्पन्न गरिसकिने कार्ययोजनामा उल्लेख छ ।

उपभोक्ता समितिमार्फत् काम गर्दा चाहिने आवश्यक कागजात जुटाउने झन्झटको पनि अन्त्य गरिएको छ । उपभोक्ता समिति गठनको माइन्युटदेखि भुक्तानीसम्मका सबै प्रक्रियाका लागि आवश्यक कागजातको फाराम समेटिएको किताब नै तयार गरी गाउँपालिकाले वडा कार्यालय मार्फत् उपभोक्ता समितिमा पठाएको छ । उपभोक्ता समिति गठन, निवेदन, विविध कागजातको नमूना फारामदेखि वडा कार्यालयबाट गरिने सिफारिसको नमूनासहितको किताब उपभोक्ता समितिले प्राप्त गर्नेछन् । त्यही किताबमा उल्लेख भएको फाराम भरी सही छाप गरी उपभोक्ता समितिले गाउँपालिकासँग सम्झौता गर्न जान सक्नेछन् ।

सम्झौता भएपछि समितिलाई अर्काे नमूना फाराम सहितको किताब उपलब्ध गराइनेछ । सोही किताबमा उल्लेख भए बमोजिमको फाराम भर्ने र उल्लेखित कागजात र बिल राखेर गाउँपालिकामा पेश गरेपछि अन्तिम भुक्तानी हुने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । गाउँपालिकाले तयार गरेको एकीकृत मान्युटलगायत अन्य आवश्यक कागजपत्रको एकीकृत पुस्तिकामा डोर हाजिरीको फारामदेखि प्राविधिक र वडा कार्यालयले गर्ने सिफारिस फारामसमेत उल्लेख रहेको छ ।

कार्ययोजनाअनुसार काम गर्नका लागि शुक्रबार वडाभित्रका उपभोक्ता समितिलाई प्रशिक्षणसमेत दिइएको थियो । योजना कार्यान्वयन पुस्तिकाको उपयोगिता र सहजताका बारेमा स्पष्ट पार्नुका साथै उपभोक्ता समितिलाई परेको समस्यासमेत सुनेर समाधानको उपायहरु बताइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*