मनहरीको खानेपानी योजनामा ६० लाख सकियो, ट्यांकी रित्तै

साझाकुरा
२०८० पुष ३, मंगलवार १२:५३

हेटौंडा-६० लाख रुपैयाँ खर्चिए पनि मनहरी गाउँपालिका–८ देवकोटस्थित खानेपानी आयोजना अझै अलपत्र छ । ६० लाख सकिँदा पनि ट्यांकीमा पानी भने आएन । स्थानीय सरकारको पहिलो कार्यकाल अर्थात २०७४ बाट सुरु भएको योजनामा हालसम्म मनहरी गाउँपालिकाले ६० लाख रुपैयाँ खर्च गरिसकेको छ । तर, मुहानबाट ट्यांकीसम्म पानी आएको छैन । मनहरी गाउँपालिका–८ का वडाध्यक्ष नारायण उप्रेतीका अनुसार देवकोट बस्तीको चुलीमा रहेको टंयाकी र स्थानीय खोल्सामा बनाइएको मुहानको दुरी झण्डै १ किलोमिटर छ । १ किलोमिटर तलबाट उकालोतर्फ मोटरले पानी फाल्नुपर्छ ।

अनि मात्रै ट्यांकीमा पानी जम्मा हुन्छ र त्यही पानी ९० घर परिवारलाई बितरण गर्नुपर्छ ।पहिलो लटमा ३५ लाख रुपैयाँ र दोस्रो लटमा थप २५ लाख रुपैयाँ लगानी हुँदा पनि ट्यांकीमा पानी खसेन । स्थानीय उपभोक्ता समितिमार्फत दुईपटक गरी योजना कार्यान्वयन हुँदा समेत ट्याङकीमा पानी नपुगेपछि आयोजना बेवारिसे जस्तै भएको छ । खानेपानी योजना कार्यान्वयनको क्रममा स्थानीयको जनसहभगिता नभएको र बजेट कार्यान्वयनका सम्बन्धमा समेत स्थानीयबासिन्दा अनभिज्ञ रहेको देवकोटका स्थानीय एबम् वडासदस्य पन्चलाल थिङले बताए ।

उपभोक्ता समितिको नाममा काम भएपनि समितिका पदाधिकारीलाई नै योजना कार्यान्वयनका सम्बन्धमा जानकारी नभएको उनको भनाई छ । दुईपटक गरी ६० लाख खर्च हुँदा समेत योजना सम्पन्न नभएपछि वडा कार्यालयको तर्फबाट योजना सम्पन्न गर्न पहल गरिएको वडाध्यक्ष उप्रेतीले बताए । उनले काठमाडौंबाट मेलम्ची खानेपानी योजनाको समेत काम हेरिरहेका प्राविधिकसँग समन्वय गरी खानेपानी विभाग पुगेर मोटर तथा पाइपहरु ल्याएर योजनालाई पुन जीवन दिन लागिएको बताए ।

‘योजना बेवारिसे रहेछ, खानेपानी समस्या पनि उस्तै छ’, उनले भने–‘खानेपानी विभागबाट १० लाख बढीको सामानहरु मगाएर योजना सम्पन्न गर्न लागिपरेका छौँ ।’ कमजोर विद्युतका कारण पनि मोटर राम्ररी चल्न नसकेकाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी मोटर चल्ने गरी मुहान नजिकै ट्रान्सफर्मर सारेर भएपनि मोटर चल्ने बनाउन लागिएको उनले बताए । यसवर्ष वडा कार्यालयले खानेपानीका लागि ५ लाख रुपैयाँ बिनियोजन गरेको रकम पनि सोही योजनामा थप गरेर भएपनि योजना सफल बनाउन खोजिएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*