अघिल्लो सरकारले बिगारेको अर्थतन्त्र सुधारोन्मुख छः अर्थमन्त्री महत
हेटौंडा-संघीय सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अघिल्लो सरकारले बिगारेको अर्थतन्त्रलाई आफूले सुधार गरेको दाबी गरेका छन् ।
तत्कालीन नेकपासरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र बिगारेको आरोप लगाएका अर्थमन्त्री महतले हाल मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको र चिन्ता लिनुपर्ने अवस्था नभएको बताएका हुन् । मंगलबार हेटौंडामा भएको नेपाली कांग्रेसको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री महतले पूर्वप्रधानमन्त्री ओलीको समयमा हचुवाको भरमा जथाभाबी गरिएको लगानी, ऋणमुखि कार्य, खुकुलो मौद्रिक नीति र अनुत्पादक क्षेत्रमा लिइएको विदेशी ऋणका कारण आर्थिक मन्दीको सिर्जना भएको आरोप लगाएका थिए ।
‘गठबन्धन सरकारबाट मलाई अर्थमन्त्रीको जिम्मेवारी दिँदाको बेलामा हाम्रो अर्थतन्त्र अत्यन्त अफठ््यारोमा थियो । ओलीको पालादेखिका समस्याहरु थुप्रिराखेको थियो ।,’ अर्थमन्त्री महतले भने । अर्थमन्त्री महतले अप्ठेरो परिस्थितिमा जहिल्यै कांग्रेसले नै सुधारेको दाबी गरे । कांग्रेसले अर्थ मन्त्रालयको जिम्मेवारी पाएपछि देशको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखापरेको उनको भनाई छ । उनले आफ्नो सम्पत्तिको सुरक्षा गर्न मरिमेट्ने जनताले राज्यको सम्पत्तिको दुरुपयोग गर्न नहुने बताउँदै अब अर्थतन्त्रले पिकअप लिने विश्वास दिलाए ।
उनले अब जनता निराश हुनुपर्ने कारण नभएको बताउँदै देशमा ब्याजदर घटिरहेको र त्यसैले अब उत्पादनमूलक लगानीको आर्थिक गतिविधिमा संलग्न हुन आग्रह समेत गरे । अर्थमन्त्री महतले विद्युत उत्पादन, पर्यटन व्यवसाय र कृषि व्यावसायिकरणमा हुने लगानीले राम्रो प्रतिफल दिइरहेको बताए । ढुंगा, गिट्टी, बालुसम्बन्धी उद्योगको नवीकरणको समस्यालाई पनि सरकारले अध्ययन गरिरहेको बताउँदै महतले द्रुतमार्गलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी दिए । महतले पार्टीको पक्षमा एकीकृत भएर उभिन कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टीमा एकताभाव, सहकार्य र समर्पण सदा रह्नुपर्ने र कामको आधारमा पार्टीले मूल्यांकन गर्ने विश्वास दिलाए । पछिल्लो समय सामाजिक सञ्जालको जमाना रहेको बताउँदै महतले असत्यलाई पनि सत्य सावित गर्ने सञ्जालको प्रभावमा नपर्न सचेत गराए । मिश्रित निर्वाचन प्रणालीले गर्दा एकल बहुमत कुनै पार्टीले ल्याउन नसक्दा सहमति र गठबन्धन नगरी सरकार गठन गर्न नसक्ने भएपछि कांग्रेसले बाध्यात्मक अवस्थामा गठबन्धनको सिर्जना भएको उनको भनाई थियो ।
कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको नेतृत्वले अर्थमन्त्री महतलाई गाँजाखेतीको बारेमा तयार पारेको प्रतिवेदन समेत बुझाएका थिए । प्रतिवेदन बुझ्दै अर्थमन्त्री महतले गाँजाखेती सम्भाव्यता अध्ययन गर्न सरकारले एउटा समिति नै निर्माण गरेको जानकारी दिँदै छिट्टै टुंगोमा पुग्ने बताए । नेपाली कांग्रेस मकवानपुर जिल्ला समितिका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको प्रथम जिल्ला सम्मेलनमा बागमती प्रदेशसभा सदस्य तथा पार्टीका प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेसका प्रवक्ता गुणराज घिमिरे, पार्टी जिल्ला पूर्वसभापति रामचन्द्र अर्याल माइकललगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर कांग्रेसको मुखपत्र ‘चारतारा’ विमोचन
नेपाली कांग्रेस मकवानपुरको मुखपत्र चारतारा मंगलबार विमोचन गरिएको छ । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको अवसर पारेर प्रकाशन सुरु गरिएको मुखपत्र चारताराको विमोचन गरिएको हो ।मुखपत्रको विमोचन नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता एवम् नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ, कांग्रेस नेता गुरुराज घिमिरे, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामालगायत नेताहरुले गरेका हुन् । नेपाली कांग्रेस सूचना संचार तथा प्रचारप्रसार विभाग मकवानपुरद्वारा प्रकाशित मुखपत्र चारतारा मासिक रुपमा प्रकाशित हुने विभागका संयोजक शिवप्रसाद खतिवडा (राजु) ले जानकारी दिए ।
मुखपत्रको सम्पादन तथा संयोजन पोष्टराज अधिकारी ‘कुमार’, बिनोद चौलागाईं, मणिराज गौतम र केशव समर्पणले गरेका छन् । यस्तै पत्रिकाको ले–आउट डिजाइन उमेश विश्वकार्माले गरेका छन् । मासिकरुपमा प्रकाशित हुने मुखपत्रको संरक्षक नेपाली कांग्रेस मकवानपुर रहने र मुखपत्रमा नेपाली कांग्रेस र यसका भातृ तथा सुभेच्छुक संस्थाहरुले आयोजना गरेका विविध गतिविधि र कांग्रेसका विचारलाई जनतासम्म पु¥याउँने काम गर्ने संयोजक राजुले बताए ।







