हेटौंडा सिमेन्टको अवस्थाबारे प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

साझाकुरा
२०८० पुष ५, बिहीबार १०:४९

हेटौंडा- प्रतिनिधिसभाको उद्योग समितिले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग पूर्णरुपमा सञ्चालन गर्न परेका समस्या र चुनौतीका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।बुधवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई हेटौंडासँगै उदयपुर सिमेन्ट उद्योगको पनि प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । समितिले हेटौंडा र उदयपुर सिमेन्टको आर्थिक, भौतिक र वर्तमान अवस्था बारेमा अध्ययन गरी उद्योग पूर्णक्षमतामा चलाउन सक्ने÷नसक्ने अवस्थाबारेमा विज्ञ सहितको टोलीले अध्ययन गरी प्रतिवेदन समितिलाई बुझाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले हेटौंडा र उदयपुर सिमेन्ट उद्योगको वर्तमान अवस्थाको अध्ययन गरी समितिलाई बुझाउन निर्देशन दिए । उनले दुई सिमेन्ट उद्योग पूर्णक्षमतामा चलाउन कुन मोडल आवश्यक छ ? समेत खुलाएर प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग निरन्तर घाटामा छ । पटक–पटक उत्पादन बन्द गर्ने, आंशिक मात्रामा मात्रै उत्पादन गर्ने गरिएको उद्योग पछिल्लोपटक कोइला अभाव देखाएर बन्द हुँदै आएको छ ।

२०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले निजी क्षेत्रमा स्थापित उद्योगसँग प्रतिष्पर्धा गर्न नसकेकै कारण घाटामा गएको हो । हेटौंडा सिमेन्ट उद्योगले भने आर्थिक कारण नै समस्या झेल्दै आएको छ । उद्योगले आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म करिब ९० करोड रुपैयाँ घाटा बेहोरेको पाइएको छ ।दैनिक ७ सय ५० मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगले केही समयअघिदेखि क्षमताभन्दा आधामात्रै उत्पादन गर्दै आएको छ । उद्योग टाट पल्टने स्थिति आएपछि जीर्ण उपकरण विस्थापन गरी नयाँ उपकरण जडान गर्न उद्योगले सरकारसंग एक अर्ब ६० करोड माग गरेको छ । उद्योग राम्रोसँग सञ्चालनमा ल्याउन नयाँ मेसिनहरुको जडान आवश्यक
रहेकाले रकमको माग गरेको महाप्रबन्धक बसन्तराज पाण्डेले बताए । तर, संघीय सरकारले रकम निकाशा दिइसकेको छैन ।

निरन्तर घाटामा उद्योग
आर्थिक वर्ष २०६६÷६७ देखि २०६७÷६८ दुई वर्ष नाफामा रहेको उद्योग आर्थिक वर्ष २०६८÷६९ देखि २०७०÷७१ सम्म तीन वर्ष पुनः घाटामा गएकोथियो ।उद्योगले आर्थिक वर्ष २०७१÷७२ देखि आ.व २०७४÷७५ को ४ वर्ष नाफामा रहेको थियो तर, त्यसयता निरन्तर घाटामा उद्योग सञ्चालन हुँदै आएको छ । अहिले घाटा बजेट ९० करोड पुगेको महाप्रबन्धक पाण्डेले बताए । आर्थिक वर्ष २०६६÷६७ मा ८४ हजार ९ सय ६ मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरेको थियो । यो आर्थिक वर्षमा ११ करोड ७० लाख १६ हजार ८ सय ८६ रुपैयाँ नाफा गरेको उद्योगको तथ्यांक देखाउँछ ।

आर्थिक वर्ष २०७१÷७२ मा ५ करोड ३२ लाख ४६ हजार ९ सय ८० रुपैयाँ, २०७२÷७३ मा चार करोड ६५ लाख ५० हजार ३ सय २० रुपैयाँ, २०७३÷७४ मा १५ करोड ४८ लाख ७७ हजार ५ सय ६२ रुपैयाँ र आर्थिक वर्ष २०७४÷७५ मा करिब १६ करोड ३६ लाख ३ हजार ४ सय ९९ रुपैयाँ नाफा गरेको उद्योगको तथ्यांक छ । आर्थिक वर्ष २०७७÷७८ मा १७ करोड ४ लाख ४० हजार ६ सय ६९ रुपैयाँ, आव २०७८÷०७९ मा १० करोड ६९ लाख २४ हजार नौसय ९३ रुपैयाँ घाटामा गएको उद्योग आर्थिक वर्ष २०७९÷८० मा १० करोड घाटामा गएको देखिन्छ । २०७५÷७६ देखि हालसम्म लगातार उद्योग घाटामा सञ्चालन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*