अनलाइनबाट खानेपानीको महशुल भुक्तानी सुरु
हेटौंडा-हेटौंडा खानेपानी बोर्डका ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्न पाउने भएका छन् । बुधबार खानेपानी व्यवस्थापन बोर्ड र एनएमबी बैंकबीच अनलाइनमार्फत महसुल भुक्तानी गर्ने सहमती भएसँगै ग्राहकले पानीको महशुल अनलाइन मार्फत भुक्तानी सुविधा प्राप्त गरेका हुन् । अनलाइनमार्फत महसुल भुक्तानी गर्ने प्रणाली कार्यान्वयन गर्ने सहमतिपत्रमा बोर्ड अध्यक्ष प्रताप बिष्ट र बैंका प्रमुख कार्यकारी अधिकृत सुरेश उपाध्यायले हस्ताक्षर गरेका छन् । सहमतिसँगै बैंको इएनएमबी एपको उद्घाटन गरी शुभारम्भ समेत गरिएको छ । एप मार्फत खानेपानी उपभोक्ताले पायक पर्ने स्थान तथा समयमासहजै बिलको भुक्तानी गर्न सकिने भएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले पानीको महसुल अनलाइन भुक्तानी गर्न मिल्ने भएपछि सहज हुने बताइन् । पानी अभावकै कारण कतिपय स्थानमा द्वन्द्व हुने गरेको बताउँदै उनले नेपालमा खानेपानी पर्याप्त स्रोत रहेकोले समस्या नरहेको बताइन् । उनले पानीको स्रोत व्यवस्थापन गरी शुद्ध पिउने पानी जनतालाई वितरण गर्नुपर्ने जानकारी दिइन् ।
बोर्डको ग्राहक २७ हजार रहेकोमा ३० प्रतिशतले अनलाइन मार्फत नै महशुल भुक्तानी गर्दै आएका छन् । ६ महिनाअघिसम्म खानेपानी बोर्डमा महशुल तिर्न दैनिक २ सयभन्दा बढी उपभोक्ता कार्यालय परिसरमै लाइन लाग्ने गरेकामा अहिले आधाभन्दा धेरै घटेको बताइएको छ । खानेपानी बोर्ड अध्यक्ष विष्टको अध्यक्षता तथा हेटौंडा उपमहानगरको मेयर लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा–२ का वडाध्यक्ष बिष्णुगोपाल महर्जन र एनएमबी बैंक हेटौंडाका शाखा प्रमुख उज्वल रिजाल लगायतको उपस्थिति रहेको थियो ।







