भुटनदेवी मावि राष्ट्रियसभा निर्वाचनको मतदान केन्द्र
हेटौंडा- निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ ।बिहीबार विज्ञप्ती जारी गरेर आयोगले आगामी १० माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एउटा मतदानस्थल र सोही मतदानस्थलमा दुईवटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदानस्थल र १४ वटा मतदान केन्द्र्र तोकेको हो ।
कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर, मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम, बागमती प्रदेशका लागि भुटनदेवी मावि प्राविधिक शिक्षालय ब्लक ‘एफ’ प्राविधिक भवन हेटौंडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढी कैलालीलाई मतदानस्थल तोकिएको छ ।
केन्द्रमा ११ माघ बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २ हजार ४७ जना मतदाताले मतदान गर्न पाउने छन् । बुधबार निर्वाचन आयोगले आगामी माघ ११ गते हुने निर्वाचनको लागि बुधबार मतदाता नामावली स्वीकृत गरी मतदाताको संख्या टुंग्याएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।
प्रदेशसभा सदस्य ५ सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४ सय ९८ जना गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मापौडेलले जानकारी दिए । प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ निर्धारण गरिएको छ ।
यो व्यवस्था अनुसार माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको छ ।







