मकवानपुरकी ‘अप्सरा’ हत्याको रहस्य ६ वर्षपछि खुल्यो

साझाकुरा
२०८० पुष ६, शुक्रबार १०:१३

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–३, घर भएकी नारायणी तिमिल्सिना ‘अप्सरा’को हत्याको रहस्य ६ वर्षपछि खुलेको छ । हत्यामा संलग्न मुख्य आरोपित पक्राउ परेसँगै उनको हत्याको रहस्य खुलेको हो । मनहरीकी अप्सरा काठमाडौंको बल्खुमा ६ वर्षअघि मृत भेटिएकी थिइन् । काठमाडौंमा ज्यामी काम गर्ने अप्सराको २०७४ पुस २९ मा हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मध्यरात भएको हत्यामा दुईजना संलग्न थिए । उनीहरू हुन्, धादिङको त्रिपुराशुन्दरी गाउँपालिका–३ स्थित तल्लोपोखरा घर भएका शिवराम अधिकारी र अर्घाखाँची घर भएका जगत विश्वकर्मा । ३७ वर्षीय जगतलाई प्रहरीले भारतको गोवाबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

६ वर्षपछि जगतलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । अप्सराको हत्यापछि फरार भएका जगत भारतमा मजदुरी गरेर बसेका थिए । गोवाबाट कहिलेकाहीँ अर्घाखाँची आउजाउ गरिरहने जगतलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । २०७४ पुस ३० मा काठमाडौं–१४ बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडि बोक्सीदह डाँडामा टाउको र मुखमा चोट लागेको अवस्थामा अप्सराको शव भेटिएको थियो ।

तर, लामो समयसम्म आरोपी फेला परेका थिएनन् । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डिएसपी सुरक्षा केसी नेतृत्वको टिमले पुरानो फाइल पल्टाएर हत्या
आरोपीलाई पक्राउ गर्न सफल भएका हुन् । हत्याको मुख्य योजनाकार शिवराम अधिकारी हुन् । ४६ वर्षीय अधिकारी नाम परिवर्तन गरेर केन्द्रीय कारागारमा थुनामा रहेको भेटिएको छ । चोरी मुद्दामा अधिकारी विरुद्ध २०७९ कार्तिक २९ मा ३ वर्ष कैद सजायको फैसला भएको एसएसपी राठौरले जानकारी दिए । उनी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । शिवरामले लुटपाट गर्ने उद्देश्यले अप्सराको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

हत्याको अनुसन्धानमा निरन्तर लागेको प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अप्सराको हत्याको ६ वर्ष पछि घटनाको रहस्य खोलेको हो । कार्यालयका प्रहरी नायवउपरीक्षक (डीएसपी) सुरक्षा केसी नेतृत्वको टोलीले हत्याका आरोपी आर्घाखाँची शितगंगा–१४ का ३७ वर्षीय जगत विश्वकर्मालाई पक्राउ गरेपछि सो घटनाको रहस्य खुलेको हो । जगतलाई पक्राउ गरेर प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*