पश्चिमी क्षेत्रका इसाई धर्मावलम्बीले सम्झिए पुराना दिन
हेटौंडा-मकवानपुरको पश्चिम क्षेत्रका गाउँहरुमा इसाई धर्मको बिस्तार हुँदाताका भएको सरकारी दमन र बहिस्करण बारे क्रिश्चियन अगुवाहरुले सम्झना गरेका छन् । मनहरी गाउँपालिका–७ मनहरीमा क्यापिटोल मिनिस्ट्री नेपालले क्रिसमस र अँग्रेजी नयाँ वर्षको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै क्रिश्चियन अगुवाहरुले धार्मिक स्वतन्त्रता नहुँदाका काला दिनको सम्झना गरेका हुन् । सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका संस्थापक एबम् इसाइ धर्म प्रचारक ऋषिराम आचार्यले २०२१ सालबाट पश्चिम मकवानपुरमा क्रिश्चियन धर्मको सुरुवात भएको सम्झना गरे । उनले न्युजिल्याण्डबाट २०२४ सालमा डाक्टर राशखोली नामका व्यक्ति आएर राक्सिराङको माइसिराङमा बसेर चेपाङ जातिको बारेमा अनुसन्धान गरेको कुरा सम्झिए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले कुनैपनि धर्मप्रति अगाध विश्वास र माया गर्नु भनेकै आफैमाथि विश्वास गर्नु रहेको बताए । उनले सबै धर्म, जाति, समुदाय समान रहेकाले धर्म निरपेक्ष मुलुकमा कुनै पनि धर्मको आधारमा भेदभाव गरिन नहुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले अब अन्य जातीय आयोग झैँ धार्मिक आयोग गठन हुनुपर्नेमा जोड दिए । क्यापिटोल मिनिस्ट्री नेपालले आगामी दिनमा राजनीतिक व्यक्तित्वसँग छलफल गरेर अघि बढ्ने प्रण गरेकोमा उनले धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य बीरबहादुर घलान ज्वाला, नेकपा एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापा, नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश बर्ताैला, नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङ, फादर सुनिल मोक्तान,बरिष्ठ पास्टर कृष्णबहादुर चेपाङ, मकवानुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेशमान मानन्धरलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।







