जंगली जीवनचर्या छोडेर उद्यमी बन्दै वनकरिया

 भानुभक्त आचार्य
२०८० पुष ७, शनिबार १२:५०

हेटौंडा- मकवानपुरको मनहरी गाँउपालिकामा मात्र बसोबास गर्ने लोपोन्मुख वनकरिया समुदायका महिलाहरु आयआर्जनतर्फ लागेका छन् । उनीहरुले नीमपत्ता, घ्युकुमारी र तीतेपातीबाट साबुन बनाउन थालेका छन् ।गाउँघरमा खेर गइरहेको जडीबुटीबाट अग्र्यानिक साबुन उद्योग खोलेर उद्यमी बन्ने तरखरमा छन् । स्थानीयस्तरमा पाइने निमपत्ता, घ्युकुमारी र तीतेपातीको प्रयोग गरेर नुहाउने, मुखधुने साबुन बनाएका हुन् ।

करिव दुई दशकअघि जंगलबाट एकीकृत बस्तीमा सरेका वनकरियाले उद्योग नै दर्ता गरेर काम सुरु गर्न लागेका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा १० लाख रुपैयाँ चुक्ता पूँजीको वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता गरेर उत्पादन सुरु गर्न लागेको सन्तोषी वनकरियाले बताएकी छन् । २५ जना वनकरिया तथा चेपाङ महिला मिलेर साबुन उद्योगको थालनीगरिएको उनले बताइन् ।

गतवर्ष राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएकोथियो । तालिमपछि आयआर्जनमा आफूहरु जोडिने अवसर प्राप्त भएको सन्तोषीले सुनाइन् । साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेकोले अबको सबैभन्दा आवश्यक पाटो कच्चापदार्थ र बजारीकरण नै भएको उनीहरुको धारणा छ । वनकरिया महिलाहरुले २० देखि ६० रुपैयाँसम्ममा साबुन बेच्ने गरेका छन् । तालिम दिन सहयोग गर्ने संस्थाले नै साबुन किनिदिने गरेको उनीहरुको भनाइ छ ।

लगानी पुँजी न्यून हुँदा उत्पादन पनि न्यून भएको उनीहरुले बताएका छन् । उत्पादन धेरै हुन थालेपछि बजारीकरण गर्न समस्या हुनसक्ने उनीहरुले बताए । १८ वर्षदेखिकबुलियत वनमा स्थायी रुपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसंख्यक वनकरियाले जंगलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको हो । हाल बसोबास गरेकै स्थानमा सामूहिक लालपुर्जा माग गर्दै आएका छन् । मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।

जंगली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने बनकरिया समुदायमा पछिल्ला वर्षहरुमा क्रमशः परिबर्तन देखिएको छ । आधुनिक जीवनउपयोगी शीपसँग टाढा रहेका बनकरिया समुदायका ५ किशोरी र एक किशोरले एसएलसी÷एसइई परीक्षा उत्तीर्ण गरेका छन् । २ जना किशोरी प्राबिधिक क्षेत्रमा लागेका छन् । वनकरिया समुदाबाट पहिलोपटक एसएलसी परीक्षा (२०७२) उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याव असिस्टेन्ट टेक्निसियन बिषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहेकी छिन् ।

त्यस्तै २०७३ को एसएलसी परीक्षा उत्तीर्ण गरेकी संतोषीले बालीबिज्ञान विषय पढिन् । एकजना स्वास्थ्य क्षेत्रको र एकजना कृषिक्षेत्रको प्राबिधिक विषय पढ्नका लागि दाताले सहयोग गरेका हुन् । उनीहरुको आफ्नो कमाई वा पुख्र्यौली सम्पत्तीले पढ्न सक्ने हैसियत छैन । पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि यिनीहरुको आर्थिक अवस्थामा सुधार आएको छ ।

लगानी गर्ने पुँजी नहुँदा उत्पादन खासै भएको छैन । जंगलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले ब्यवस्थापन गरेको हो । आर्थिक रुपमा विपन्न उनीहरु पर्सा वन्यजन्तु आरक्षभित्र निगुरो खोजेर बेच्ने तथा ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए । दुईदसक अघिसम्म नेपाली नागरिकता नभएकै कारण समाजमा एकलकाट्टे जस्तो बन्नु परेको वनकरिया समुदायले केही महिना अघिमात्र साबुन उद्योग दर्ता गरेका छन् ।

२०६१ सालमा हेटौंडा–२ स्थित सिद्धार्थ माविमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले खाजाखाने पैसा बचाएर त्यतिबेलाको १२ घर वनकरिया परिवारमा एफएम रेडियो सेट बितरण गरेका थिए । वनकरिया समुदायलाई पनि संचारको पहुँचमा पु¥याउनका लागि सिद्धार्थका बालबालिकाले रेडियो सेट उपलब्ध गराएका थिए । सिद्धार्थ माविका तत्कालीन प्रधानाध्यापक गोकुललाल श्रेष्ठ करिव ५० जना विद्यार्थी लिएर आफैं वनकरिया बस्तीमा पुगेका थिए ।

उनीहरुको जीवनशैली, रहनसहन, रीतिरिवाज, पहिरनका बारेमा विद्यार्थीलाई जानकारी पनि गराउने र रेडियो पनि बितरण गर्ने उद्देश्यले सिद्धार्थको टोली त्यसतर्फ गएको थियो । अहिले वनकरिया बस्तीमा एलइडी टीभी, नेट, मोवाइलको पहुँच पुगेको छ । २ दसकबीचमा वनकरिया समुदायले प्रबिधिमा फड्को नै मारेको छ ।

निकुञ्जले मध्यवर्ती क्षेत्रमा घर निर्माण गर्न नदिने र अन्यत्र वनकरियाको नाममा नम्बरी जग्गा नभएकाले जनता आवासअन्र्तगत घर निर्माण हुन सकेको छैन । नम्बरी जग्गा नभएका कारण वनकरियाको घर निर्माणका लागि आएको रकम पटकपटक फिर्ता भइरहेको छ । केही वर्षअघि तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई वनकरिया बस्तीमा एक रात बास बस्दा लालपूर्जा उपलब्ध गराउने आश्वासन दिएका थिए । उनले समस्या समाधानका लागि कार्यदल बनाए पनि सक्रिय नहुँदा वनकरियाले जग्गा प्राप्त गर्न
सकेका छैनन् ।

डोको, नाम्लो, माछामार्ने जाल बुन्ने, कुचो बनाउने, कुरिलोको जरा खोजी गर्ने, जडिबुटी खोजी गरेर औषधि बनाउने जस्तापरम्परागत सीप र दक्षता नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिएने भने त्यो लोप भएर जाने निश्चित छ । कतिपय धार्मिक रीतिरिवाज पनि नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन ।वनकरियाको भाषा, लिपि, भेषभूषा, रीतिरिवाज, संस्कार, मौलिक परम्परा आदि नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । सामाजिक संजालमा नयाँ पुस्ता रमाएका कारण पुरानो पुस्ता रहेसम्म मात्र उनीहरुको मौलिकता रहने सम्भावना छ ।

वनकरिया समुदायको वरपर बस्ने चेपाङहरुले आफ्नो मौलिक धर्मसंस्कृति छोडेर क्रिश्चियन भइरहेका कारण पनि वनकरियालाई यसको प्रभाव पर्न थालेको छ । अहिलेसम्म वनकरिया समुदायबाट क्रिश्चियन धर्ममा प्रबेश नगरेको मुखिया सन्तमायाले बताइन् । यो समुदायमा मानिस बिरामी पर्दा अस्पताल लैजाने चलन थिएन । धामी, झाँक्री लगाएर फलाक्ने, झारफुक गर्ने, वनदेबी मन्छने, अक्षता फ्याँक्ने चलन थियो । पछिल्लो समयमा यो सबै चलन हराएको छ र समुदायमा कोही बिरामी पर्दा स्वास्थ्यसंस्था वा अस्पताल जाने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*