महासंघको वडास्तरीय संगठन विस्तार

हेटौंडा-नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल लोकतन्त्रवादी आदिवाबासी जनजाति महासंघको वडास्तरीय संगठन विस्तार भएको छ । ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन लक्षित रही महासंघको वडावडामा समिति गठन गरिएको हो । केन्द्रीय निर्देशनअनुरुप २१ गते शनिबारसम्ममा देशैभर वडागत समिति गठन गर्ने निणर्य अनुरुप मकवानपुरमा ४५ वटा वडामा महासंघको समिति गठन गरिएको हो । मकवानपुरका १० वटा स्थानीय तहमा रहेको १०२ वडामध्ये हेटौंडा उपमहानगरका १६ वटा वडासहित मकवानपुरका ४५ वडामा महासंघको समिति गठन गरिएको महासंघ जिल्ला कार्यसमितिका सचिव जयनारायण श्रेष्ठले बताए । बाकीँ वडाहरु २५ गतेभित्र सम्पन्न गर्ने उनले बताए ।
पार्टीको संरचना जस्तै वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति र जिल्ला समिति निर्माण हुने सचिव श्रेष्ठले बताए । अहिले हामी वडातहको समिति गठन गर्ने र ६ जना क्षेत्रीय प्रतिनिधि छनोट कार्य तीव्र भइरहेको छ, सचिव श्रेष्ठले भने । हामी आगामी माघ ६ गते पालिकास्तरीय समिति गठन गर्नेछौं । त्यस्तै, माघ २१ गते प्रदेशसभा क्षेत्र, फागनु १ गते संघीय निर्वाचन क्षेत्र, फागुन १९ गते जिल्ला अधिवेसन, चैत १७ र १८ गते बागमती प्रदेश अधिवेसन र आगामी ०८१ जेठ २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेसन गर्ने तालिका रहेको सचिव श्रेष्ठले बताए ।
छनोट भएका प्रतिनिधिले प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रका साथै जिल्ला समितिको निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाइने श्रेष्ठले बताए । प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा वडा समिति गठन गरिएको महासंघ हेटौंडा नगरसमितिका अध्यक्ष हर्करत्न लामाले बताए ।