हुप्राचौरमा दुर्गा प्रसाईंको कोणसभा हुने

हेटौंडा-राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल मकवानपुर जिल्लाको आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्न व्यवसायी दुर्गा प्रसाईँ हेटौंडा आउने भएका छन् ।महाअभियानका नारायणी अञ्चल संयोजक विजय तिमल्सिनाले कार्यक्रमको विषयमा बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका छन् । माघ ६ गते दिउँसो १ बजे हेटौंडाको हुप्रचौरमा कोणसभा आयोजना गरिने र सभालाई प्रसाईंले सम्बोधन गर्ने जनाइएको छ । कार्यक्रममा सहभागी हुन नारायणी अञ्चलभरीका करिब २५ हजार मानिस उपस्थित हुने र कार्यक्रमको खर्च ६ लाख रुपैयाँ हुने अनुमान रहेको संयोजक तिमल्सिनाले बताए ।
‘बैंक, सहकारी तथा फाइनान्स पीडितको पीडामा मल्हम लगाउन उहाँ आउन लाग्नुभएको हो । हामी जनताको आवाज सुन्छौँ र त्यसलाई उजागर गर्छौँ ।’, पत्रकार सम्मेलनमा तिमल्सिनाले भने । पत्रकार सम्मेलनमा जिल्ला संयोजक भीम राउतलगायत विभिन्न जिल्लाका संयोजकको उपस्थिति रहेको थियो ।