पत्रकार महासंघको निर्वाचन जेठ १९ लाई तय
हेटौंडा- प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन जेठ १९ गतेका लागि तोकिएको छ ।बिहीबार बसेको महासंघको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर विधान बमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत देशैभर एकै दिन मतदान गर्ने निर्णय गरेको हो । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचन हुन लागेको यो दोस्रो पटक हो । पोखरा महाधिवेशनबाट विधान संशोधन भएपछि तीन वर्षअघि चैतमा पहिलो पटक प्रत्यक्ष प्रणालीबाट निर्वाचन भएको थियो ।
बैठकले सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुंगो लगाउने निर्णय गरेको छ । महासंघले देशैभर शुद्धिकरण अभियान चलाएको थियो । आज शुक्रवारका लागि महाधिवेशनमा पेश हुने महासचिवको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन बैठकले पारित गरेको जनाइएको छ । साधारणसभा भएको एक महिनाभित्र निर्वाचन गरिसक्नु पर्ने विधानतः व्यवस्था छ ।







