दक्ष प्रसुतिकर्मी तालिम केन्द्र स्थापना
हेटौंडा- हेटौंडा अस्पतालमा दक्ष प्रसुतिकर्मी (एसबीए) तालिम केन्द्रको स्थापना गरिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य तालिम केन्द्र काठमाडौंको आर्थिक सहयोगमा तालिम केन्द्रको स्थापना गरिएको हो ।आइतबार प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले एक कार्यक्रमबीच तालिम केन्द्रको उद्घाटन गरे । स्वास्थ्यमन्त्री श्रेष्ठले दिगो विकासको लक्ष्य अनुसार मातृशिशु मृत्युदर न्यूनीकरणमा अन्य प्रदेशको तुलनामा बागमती प्रदेश अगाडि रहेता पनि प्रति लाखमा मातृशिशु मृत्युदर ७५ प्रतिशत हुनु चूनौतिपूर्ण रहेको बताए ।
तालिम केन्द्र स्थापनासँगै पहिलोचरणको दक्ष प्रसुतिकर्मी (एसबीए) तालिम आइतबारबाट सुरु गरिएको छ । ६० दिनसम्म चल्ने तालिममा बागमती प्रदेशका तीन जिल्लाका ८ जना स्वास्थ्यकर्मी सहभागी छन् । प्रतिष्ठानका रजिष्टार एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका सचिव दीपक तिवारी, स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्र झा, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्याललगायतको उपस्थिति थियो ।







